जेष्ठ ३, झापा । जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाले जाेर विजोर प्रणाली लागू गरेको छ । शनिबार बसेकाे समितिकाे बैठकले सोही अनुसार पसल खोल्न मिल्ने गरि निर्णय गरेको हो ।
बैठकले जोर गतेका दिन खाद्यन्न पसल र बिजोर गतेका दिन गैरखाद्यन्न पसल खोल्न पाइने निर्णय गरेको छ । योसँगै कृषि र औषधि भने नियमित सञ्चालन गर्न पाइने निर्णय गरेको समितिका संयोजक सोमनाथ पार्तेलले जानकारी दिए ।
खोल्न पाइने पसलहरु यसअघिकै निर्णय अनुसार हुनेछ । यस्तै बैठकले भारतमा अलपत्र नेपालीलाई जेठ ५ गते सोमबारबाट आउन दिने व्यवस्था गरेको छ । उनीहरुलाई ल्याएर स्वास्थ परीक्षण पछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तब्यसम्म पठाइने छ ।
अन्य जिल्लाको हकमा कोरोना नभएको सुनिश्चित भए जिल्लाका सदरमुकामसम्म पुर्याउने व्यवस्था गर्ने निर्णय भएको छ । भारतमा अलपत्र नेपाली झापा प्रवेश गर्दा उनीहरुलाई क्वारेन्टाइनमा राखिने पोर्तेलको भनाई छ ।
उनीहरुको खानपानको व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्ने बताइएको छ । समितिले नेपाल आउने आफ्ना नागरिकको निम्ति खानपानको थप व्यवस्था गर्न नीजि क्षेत्रलाई सहयोगको आव्हान गर्ने निर्णय भएको छ । झापाका १५ वटै स्थानीय तहमा रहेका बैंक तथा वित्तिय संस्था आधाआधा गरी दिन विराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय भएको छ ।
खाद्यन्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानीमा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ । सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको छ ।