काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभाजन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् ।
आइतबारको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तुष्टि जनाएका हुन्।
ओलीले प्रस्ताव गरेका कमिटी र कार्य विभाजनप्रति नेता सुवास नेम्वाङ र पृथ्वी सुव्वा गुरुङले यो बेठीक भो भनेर प्रतिवाद गरेका थिए । तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ ।
नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा असन्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तुष्टि जनाएका थिए । नेता घनश्याम भुसालले सवै विषयमा आपत्ति जनाएका थिए । ‘यो घोर अन्यायपूर्ण र अपमानपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वीकार गर्न सकिदैन, स्वीकार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।
यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओलीले पुर्नविचार गर्न चासो देखाएका छैनन् । यसै कारणले फेरि पार्टीभित्रै ओलीमाथि प्रश्न उठ्न थालेको छ ।