११ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरेका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको जिकिर गरेका हुन् ।चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले बताए । पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको शाक्यको भनाइ छ । उनले विद्युत क्षमता वृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको बताए ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । तर अहिले अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेको हुँदा नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने सूचना जारी गरेको थियो ।वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था छ । तर, अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।
अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।
यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद ३५ दिनका लागि थप गरिएको जानकारी समेत दिए ।
समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने बताए ।




