Connect with us

मनोरञ्जन

साहित्यको परिधि जिवन जत्तिकै ठूलो छ र म त्यो परिधिभित्र परिसकेको छैन – आकाश बराल

Published

on

नारायणी दैनिक . चितवन: लेखक आकास बरालको पहिलो उपन्यास ‘स्पर्श’ बैशाख ३१ गते बुलबुल पब्लीकेशनबाट प्रकाशन भएको हो । स्पर्शले अहिले युवा पाठकहरुको मन जितीरहेको छ ।

उपन्यास साधारण भाषामा लेखीएको नेपाली किशोर किशोरीहरुको कथा हो । एउटा प्लस टु सकेको सामान्य केटा (वेद) बाको सपना पछ्याउँदै उच्च शिक्षाको लागी काठमाडौँ पुग्छ । त्यहाँ उसको भेट अर्को केटी (अक्षता) सँग हुन्छ । उसलाई भेटेपछि उसले आफ्नो र बाको सपना बिच ठूलो खाडल रहेको थाहा पाउँछ । अब के उसले बाको सपना पछ्याउँछ या आफ्नो अस्तीत्व खोज्न थाल्छ ? कथा यसैको सेरोफेरोमा रहेको छ ।

आफूलाई सामान्य कथाकार भन्न रुचाउने आकास बरालसँग उहाँको पहिलो उपन्यास स्पर्शसँग सम्बन्धीत रहेर गरिएको कुराकानी:

१. ‘स्पर्श’ यो शिर्षकको अर्थ र यो कथाको प्रेरणाको बारेमा केही भनिदिनुस्

स्पर्श, यसको शाब्दिक अर्थ छुनु नै हो । यसले दुइजना बिचको भावनाको स्पर्श हुनु भन्ने पनि जनाउँछ । यो उपन्यासको कथालाई केन्द्रमा राखेर भन्दा हाम्रो उमेर बढ्दै जाँदा जुन भावनामा, बिचारमा परिवर्तन आउँदै जान्छ, त्यसले आफूलाई चिनाउँदै लैजान्छ त्यो चिजको स्पर्श हुनु हो । अब प्रेरणाको कुरा गर्दा ठ्याक्कै यहीँ भन्ने त केही छैन किनकी यति कथा लेखीसक्दासम्म प्रेरणाको स्रोत पनि परिवर्तन हुँदै जान्छ । सुरुको प्रेरणा चाहीँ मलाई एउटा कथा भन्न मन लागेको थियो । जसमा मेरो मनको कुरा पोख्न पाऊँ, मैले जति बुझेको छु त्यो अभिव्यक्त गर्न पाऊँ ।

२. प्रतिकृया कस्तो पाइरहनुभएको छ ?

धेरैजसो राम्रो प्रतिकृया नै पाइरहेको छु । कथा, पात्रहरुमा आफूलाई पाएँ भनेर प्रतिकृया दिइरहनुभएको छ । बिशेष गरि युवा पाठकहरु यस कथाको मुख्य पात्र वेदसँग आफूलाई पाएको छु, भनीरहनुभएको छ । कसैले कलेजका दिनहरु याद दिलायो भनिरहनुभएको छ । समग्रमा प्रतिकृयाहरु राम्रा छन् ।

३. तपाई आफूले पढ्न र लेख्न कहिले बाट सुरु गर्नुभएको हो ?

म सानैदेखी कथा सुन्न रुचाउँथे । मामाघरको हजुरबुवा लोक कथाहरु भन्नुहुन्थ्यो । उहाँ राम्रो कथा वाचन गर्नुहुन्थ्यो । पछि लगभग म थ्री, फोर क्लासमा पढ्ने बेलामा मम्मीले मासिक पत्रिका मुना, सुनकेस्रा र हप्तैपिच्छे कान्तीपुरसँग आउने कोपिला ल्याइदिनुहुन्थ्यो । ती पत्रिका घर आउनेबित्तिकै म सुरुमा सबै कथाहरु पढीसक्थेँ । यसरी पढ्ने बानी बस्यो । पछिपछि आफै कथा, लोककथा, उपन्यासहरु खोजेर पढ्न थालेँ ।

पढ्दै जाँदा त्यो कथाहरुमा कहिलेकाँही म आफूलाई पाउँथे । लाग्थ्यो लेखकले मेरै बारेमा लेखेको हो । अनि सोँच्न थालेँ, मैले पनि मेरो मनको कुरा लेखेँ र कसैले यो मेरो बारेमा लेखीएको हो भन्यो भने कस्तो होला ? त्यो सोँच्दा नै खुसी लाग्थ्यो । मैले पहिलो कथा क्लास फाइभमा हुँदा लेखेको थिएँ, दाजुभाइको खेलौना हराएर उनिहरुले त्यो खोज्न गर्ने सङ्घर्षको कथा थियो । तर पुरै प्लट त याद छैन ।

४. कस्तो किताबहरु पढ्न रुचाउनुहुन्छ ?

किताब त यस्तै नै मन पर्छ भन्ने छैन । कस्तो किताब पढ्ने भन्ने कुरा अनुभवसँगै परिवर्तन पनि हुँदै जाने रहेछ । कथा, उपन्यास त पढीरहेकै हुन्छु । इतिहासमा घटेका घटनाहरु पढ्न अझ रोचक लाग्छन् । संस्मरण, निबन्ध र आत्मकथाहरु पनि उत्तिकै मन पर्छ ।

५. मन पर्ने लेखकहरु

लेखकहरु पनि सबैको पढीरहेको हुन्छु, सबै मन परेरै हो पढ्ने । बि.पी. कोइराला, ध.च. गोतामे, नारायण ढकाल यहाँहरुको कृति मन पर्छ । अहिलेको अग्रज लेखकहरु नयनराज पान्डे, बुद्घिशागर, अमर न्यौपाने अरु पनि धेरै लेखकहरुको कृति पढ्ने गर्छु । बाहिरका लेखकहरुमा हेमिङवे, मुराकामी, पाओलो कोएलो, खालिद होसेनी र अझ अरु लेखकहरुको पढेको छु । सबैको कृति मन पर्छन् । कुनै कुनै लेखकले चाहिँ मनमै बास गर्छन् । मलाई अति नै मन पर्ने चाहिँ भैरव अर्याल हो । उहाँको निबन्धहरु मैले धेरै रिपिट गरेर पढेको छु, कहिलेकाँही साथीहरुलाई उहाँको पुरै निबन्ध पढेर सुनाउँछु अझै पनि ।

६. कथा कसरी लेख्ने भनेर सोध्यो भने के भन्नुहुन्छ ?

कसरी लेख्ने भन्न गाह्रो छ । हरेक लेखकको लेख्ने तरिका फरक फरक हुन्छ । कसरी लेख्ने भन्दा अगाडि किन लेख्ने, आफ्नो कुन कुरा अभिव्यक्त गर्ने थाहा भयो भने कसरी लेख्ने थाहा हुँदै जान्छ । म पनि बल्ल सिकाइको सुरुवाती चरणमा छु । अझै पनि गुगलमा हाउ टु राइट अ स्टोरी खोजीरहेको हुन्छु ।

७. नलेख्ने समयमा के गर्नुहुन्छ ?

किताबहरु पढ्छु, फिल्महरु हेर्छु । फिल्मको पटकथा लेखनमा पनि रुची राख्छु । त्यहाँ पनि कथा शब्दले नै भन्ने हो । फरक भनेको अन्तीम स्वरुप चाहीँ पर्दामा आउने हो ।

८. साहित्यकार नभएको भए के हुनुहुन्थ्यो ?

साहित्यको परिधि जिवन जत्तिकै ठूलो छ र म त्यो परिधिभित्र परिसकेको छैन । म आफूलाई साहित्यकार भन्न सक्दीन । म सामान्य कथा भन्ने मान्छे हूँ ।
कथा भन्ने बाहेक अरु केही गर्छु भनेर मैले कल्पना गरेको छैन । जुनसुकै माध्यम होस् अक्षर, या फिल्मको पर्दा म सधैभरी कथा भनीनै रहन्छु ।

९. स्पर्शकै सन्दर्भमा फेरि फर्कदा, यसको कथा तपाइको बास्तबिक जीवनसँग कतिको मेल खान्छ ?

मेलै खाँदैन भन्न पनि मिल्दैन, केही कुरा मेल खान्छन् । तर धेरै प्लटहरु कल्पना गरेरै लेखेको हूँ । जानी नजानी आफ्नो कुराहरु कथामा आइहाल्छ । आफ्नो कथा नआएपनि आफ्नो विचारहरु आउँछ । तर घटनाहरु चाहीँ मेरो जीवनसँग निकै कम मेल खान्छन् ।

१०. अन्तीममा स्पर्शकै कुरा गर्नुपर्दा, केही पाठकहरुले कथाको अन्त्य अधुरो भयो । यसको दोस्रो भाग पनि आउनुपर्छ भन्नुभएको छ । कहिले आउँछ ?

अहिले त्यसको कुनै योजना छैन । दोस्रो भागको प्लट केही पनि छैन । हो उपन्यासमा केही कुरा अधुरो लाग्छन् तर भनिन्छ नि केही कुरा अधुरो नै राम्रा हुन्छन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक