नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। उनले केही नेताहरू महाधिवेशन वैशाख वा त्यसपछि गर्ने पक्षमा भए पनि आफू पुसभित्रै गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।
कोइरालाले भने, “पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्छ। बहुमतका आधारमा होइन, सर्वसम्मत निर्णयले विवाद कम हुन्छ र पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ।”
असोज २९ गते पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। कोइरालाले ती हस्ताक्षर सनाखत गराउन थालिए पार्टी विभाजनको जोखिम बढ्ने बताए।
नेपाली कांग्रेसमा महाधिवेशन समयतालिका र विशेष महाधिवेशन गर्ने–नगर्ने विषयमा नेताहरूबीच मतभिन्नता देखिएको छ। शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि महाधिवेशनका पक्षमा छन् भने सभापति देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी वैशाखमा गर्ने पक्षमा छन्।
केन्द्रीय समिति बैठक हालसम्म सर्वसम्मत निर्णय गर्न नसकेको र मंसिर ४ गतेसम्म स्थगित गरिएको छ। पार्टीभित्र नेताहरू अनौपचारिक छलफलमार्फत समाधान खोज्दै छन्।




