जेन–जी आन्दोलनका नाममा डल्लुस्थित निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छन्। लामो उपचारपछि नेपाल फर्किएकी चित्रकारले उक्त घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेन–जीको अबोधपनको मुखुण्डो ओढेर देश विध्वंश गर्ने तत्वहरूलाई सरकारले तत्काल पहिचान गरी सजाय दिनुपर्ने बताइन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेन–जी आन्दोलनको नाममा हिंसा मच्चाउनेहरू वास्तविक जेन–जी नभएको दाबी गरिन्। ‘हिटलरको ग्यास च्याम्बर किताबमा पढेकी थिएँ, आज आफैँ त्यसमा परेँ,’ भन्दै उनले पीडितका रूपमा न्यायको माग गरिन्।
यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए। घरसहित सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएपछि उपचारमा समेत कठिनाइ भएको उनको भनाइ छ।
गत भदौमा जेन–जी प्रदर्शनका क्रममा खनाल दम्पतीको घरमा आगजनी हुँदा रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि भारत लगिएकी उनको स्वास्थ्य अवस्था अहिले क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ।
यो घटनाले जेन–जी आन्दोलनभित्र भएका हिंसात्मक गतिविधि र दोषीमाथि कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ।



