मोरङको बेलबारीमा छोराबुहारीले वृद्ध बुवालाई जंगलमा लगेर छाडिदिएको खुलेको छ। बेलबारी–७ का ७० वर्षीय जामुनलाल झांगडलाई उनकै छोराबुहारीले बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा लगेर छोडिदिएका हुन् ।
छोराबुहारीले जंगलमा छोडेका उनको चार दिनपछि मंगलबार वनका कर्मचारीहरूले उद्धार गरेका छन् । ती वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले बताए ।
छोरा बुहारीले मोटरसाइकलमा लगेर जंगलमा छाडिदिएको ती वृद्धलाई उद्धृत गर्दै गिरीले जानकारी दिए । ‘चार दिनअगाडि छोराबुहारीले मोटरसाइकलमा ल्याएर छाडेको भनेका छन्,’ अध्यक्ष गिरीले भने, ‘धेरै बोल्न सक्दैनन् । अहिले नगर अस्पतालमा उपचार गराइरहेका छौं ।’ गिरीका अनुसार वृद्धको शरीरमा चोट देखिएको छ ।
उनी वडा नं ७ डाँगी टोलमा बस्ने गरेको खुलेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । ‘मैले छोरा बुहारीलाई वडामा ल्याउन प्रहरीलाई भनेको छु,’ उनले भनिन्, ‘अब भरेसम्म के भएको रहेछ खुल्छ ।’
वन गस्तीमा गएका डिभिजन वन र बेलबारी– चिसाङ साझेदारी वनका गणेश कार्की, राजेन्द्र घिमिरे, मुरारी काफ्ले, सन्तोष विकलगायतले उनको उद्धार गरेका थिए ।