काठमाडौँ, ३२ असार : वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका–३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन् ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भएका खड्का फरार रहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ल बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । आवश्यक कारबाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
—रासस




