बैशाख १५ । झापा ।
कोरोना संक्रमणको विश्वव्यापी महामारीका कारण हामी लकडाउनमा छौं । घरमै बसेर सरकारले घोषणा गरेको लकडाउन पालना गरिराखेका छौं । लकडाउनकै समयमा बैशाख ६ गते शनिबार । बिहान साढे ९ बजे । बहिनी सलिना(बर्ष १५) पेट दुखेर सहनै नसक्ने अवस्थामा पुगिन् ।
वाक्क वाक्क लाग्ने तर वमिट नहुने । घरमा के गर्ने भन्ने सल्लाह गर्दा स्थानिय मेडिकल संचालक एम के राजबंशीलाई फोन गरि घरमै बोलाएर उपचार गर्न सकिन्छ भन्ने आशाले बोलाईयो । केही समयमै उनि आए । उनले चेकजाँच गरेपछी एपेन्डिसाईटिसको अनुमान गरि तुरुन्तै दमक लैजान सल्लाह दिए ।
उनकै सल्लाह बमोजिम दमक लगियो । बाटोमा प्रहरीलाई समस्या बताउँदै दमक स्थित पुराना आम्दा अर्थात दमक अस्पताल पुर्याईयो । त्यहाँबाट एपेन्डिसाइटिस नै हो भनि पत्ता लाग्यो । सल्यक्रिया त्यहाँ नहुने भए पछि दमक हस्पिटल रिफर भयो ।
त्यहाँ पुग्दा करिब साडे २ बजेको थियो । इमर्जेन्सीमा भेटिएका एकजना त्यहिका स्टाफ(पोख्रेल थरका) ले भने,-“यहाँ कम्प्युटर प्राविधिबाट सल्यक्रिया हुन्छ । एकदम छिटो र सुरक्षित । बिरामी ठिक हुनपनी समय लाग्दैन । २/३ दिनमै डिस्चार्ज गर्न मिल्छ ।”
यो लकडाउनको समयमा हामीले खोजेको पनि त्यही थियो । हामीले बिरामीको स्वास्थ्य बिमा पनि गरेको छ भनी जानकारी गरायौं । त्यसपछी कुरा मोडियो । उनले सिधै भने,- “ऐले स्वास्थ बिमा मार्फत चैँ उपचार गर्न सकिँदैन ।”
हामीले भन्यौं, – “बिमा लागू भएको अस्पताल हो त यो पनि । स्वास्थ बिमा लागू गरिएको छ भनेर ठूलो अक्षरमा लेख्नु भएको छ । ” उनले भने-“हो हुन त, अरुबेला भए बिमाबाटै गर्थौं । लकडाउनले अफ्ट्यारो छ हामीलाई पनि ।”सरकारले बिमाको पैसा हामीलाई दिएको छैन । बिमाबाट गर्ने भए अन्तै जानु ।” हामी अलमलमा पर्यौं ।
अन्त कहाँ जाने साथमा पैसा पनि छैन । धेरै आग्रह गर्दा पनि बिमाले काम नगर्ने नै भयो बरु सहुलियतमा उपचार गर्दिने उनले प्रतिबद्धता जनाए । “तीस हजारमा अपरेसन सँगै डिस्चार्ज हुँदा औसधि पनि दिने गरि मिलाउन सकिन्छ ।” उनले भने-“यो मिलाएर गर्दिन खोजेको हुँ ।” त्यसो नगर्ने भए दमक आम्दा वा नोबेल अस्पताल बिराटनगर लैजान सकिने सुझाव उनैले दिए ।
आफु आम्दाको पनि इमर्जेन्सी स्टाफ रहेको उनले नै बताए । आम्दामा चिर्ने विधीबाट सल्यक्रिया हुने रहेछ । तर त्यहाँ पनि बिमा चल्ने नचल्ने पक्का भएन । त्यसपछि बिरामीको अवस्था हेरि त्यहीँ दमक हस्पिटल मै उपचार गर्ने निधोमा पुगियो । बिरामीको उपचार भयो ३ दिन पछि सोमबार घर ल्याईयो । तर मनमा एउटा कुरा खेलिरह्यो ।
लकडाउनले गर्दा दैनिक गुजारा गर्न समेत कठिक भैरहेको समयमा सरकारले दिएको सुबिधा स्वास्थ्य बिमाले पनि काम गरेन । यस्तो बेलामा नागरिकलाई राज्यको झन धेरै आवस्यकता हुन्छ । कठिन परिस्थितिमा सरकारको निर्देशन मानेर लकडाउनमा बसेका नागरिक बिरामी हुँदा अस्पतालहरुले झन बढी सुबिधा दिनुपर्ने होइन र ?
आपतको बेला काम नलाग्ने तिम्रो बिमा के काम सरकार ? कतैबाट पैसा आउने बाटो छैन । छाक टार्नै मुस्किल हुन थालिसकेको बेला राज्यले दिएको सेवा लिन अझै पनि सोर्सफोर्स लगाउनु पर्ने हो ? एक लाख रुपैयाँसम्मको उपचार निशुल्क भन्दै स्वास्थ्य बीमा गरियो । परेका बेला एक रुपैयाँको काम गरेन भने जनताले दुःख गरेर तिरेको पैसा राज्यकोषमा जम्मा गर्न मात्र हो ?