इजरायल जाने तयारीमा रहेका नेपालीहरु समस्यामा परेका छन् । सबै प्रकृया पुरा गरेर बसेका एक हजार भन्दा बढी नेपालीको अझै भिसाा आएको छैन । दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएका कारण नेपाली समस्यामा परेका हुन् । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् ।
इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा नआउँदा अप्ठेरोमा परेका हुन् । वैदेशिक रोजगार विभागले ८०० जना कामदारसँग सम्झौता पनि गरिसकेको छ । उनीहरू इजरायल प्रवेशाज्ञाको प्रतीक्षामा छन् । इजरायल पुगेका कामदारहरूले एक महिनाको तलबभत्ता पनि बुझिसकेका छन् । तर, प्रवेशाज्ञाको प्रतीक्षामा रहेकाहरू भने कहिले जान पाउने भन्ने अन्यौलमा छन् ।
इजरायलकै कारण यस्तो समस्या आएको हो । त्यहाँको परराष्ट्र मन्त्रालयका कर्मचारीहरु आन्दोलनमा रहेका कारण समस्या भएको बताइएको छ । सेवा सुविधाको माग राख्दै कर्मचारीले हड्ताल गरेका हुन् । तर प्रकृया किन रोकियो भन्ने बारे इजरायलले भने नेपाललाई औपचारिक जानकारी गराएको छैन । अनौपचारिक रूपमा दूतावासले कर्मचारीको हडतालको कारण रोकिएको बताएको छ ।