पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका चार जना छन् । जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शव हालै फेला परेको छ ।प्रहरी र अग्नि नियन्त्रकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन् । सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीले कान्टो क्षेत्र र इजु टापुमा भारी वर्षा गराएको थियो । वर्षाका कारण पहिरो र नदीमा बाढी आउनुका साथै टोकियो आसपासका क्षेत्रमा, विशेषगरी चिबा प्रिफेक्चरमा ठूलो क्षति पुगेको छ ।एनएचकेका अनुसार बिहीबार दिउँसोसम्म चिबा र कानागावा प्रिफेक्चरमा आँधीका कारण करिब एक हजार भवन ध्वस्त भएका, क्षतिग्रस्त भएका वा डुबानमा परेका छन् ।उत्तरी चिबाको इम्बानुमा ताल क्षेत्रमा आँधीपछि केही बाँध भत्किँदा आसपासका बस्ती, धानखेत र सडक डुबानमा परेका छन् । पानीको सतह घट्दै गए पनि केही क्षेत्रमा बाढीको अवस्था कायमै रहेको र शुक्रबारसम्म पुनःस्थापनाको काम जारी रहेको जनाइएको छ ।
आँधीका कारण जनजीवन र यातायात समेत प्रभावित भएको छ । शुक्रबार बिहान ६ बजेसम्म चिबा र कानागावाका करिब ११ हजार ७९० घरपरिवारमा विद्युत् सेवा अवरुद्ध थियो । चिबाका केही रेलमार्गमा सेवा स्थगित वा कटौती गरिएको छ ।
यसैबिच, जापानको मौसम विज्ञान विभागका अनुसार यस सिजनको २६औँ आँधी आगामी दिनमा जापान नजिक पुग्न सक्ने सम्भावना छ । उक्त आँधीका कारण ओकिनावा र अन्य क्षेत्रमा समुद्रमा उच्च छाल उठ्नुका साथै खराब मौसम हुनसक्ने चेतावनी दिइएको छ ।




