प्रधानमन्त्री सुशीला कार्की ले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तनलाई लैङ्गिक हिंसा अन्त्यका लागि अपरिहार्य पूर्वसर्त भएको बताएकी छन्। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको १६ दिने अभियानको उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैङ्गिक हिंसाबाट पुरुषसमेत प्रभावित हुने सामाजिक यथार्थ बुझ्न आवश्यक रहेको औँल्याइन्। प्रविधिको प्रयोगले सचेतना विस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने भएकाले यस वर्षको नाराको सान्दर्भिकता रहेको उनले भनिन्। उनी कुनै धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने र संविधान तथा कानुनी संरचनाले महिलालाई समान अधिकार दिएको भए पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको स्पष्ट गरिन्।
प्रधानमन्त्री कार्कीले निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढाउन र निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन दलहरूले पहल गर्नुपर्नेमा जोड दिइन्। साथै, हिंसाले महिलाको जीवनमा मानसिक तथा बहुआयामिक चोट पुर्याउने भएकाले पीडितको संरक्षण, राहत र पुनःस्थापना राज्यको प्राथमिकतामा रहने बताइन्।
उनले भनिन्, “सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ। कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो। यसमा सबै लाग्नुपर्छ।” प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैङ्गिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन्।



