काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिनुभएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कि पार्टी खोल्न नभए व्यापार गरेर बस्न सुझाव दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको टिप्पणी गर्नुभएको छ । साथै उहाँले नेपालमा पुनः राजतन्त्र फर्कन नसक्ने दाबीसमेत गर्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘म सङ्केत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्त्वहरूलाई भन्न चाहन्छु । फेरि शिर उठाउने दुस्साहस गर्ने काम नगर्नुस् ।
अब नदीको प्रवाह अघि बढिसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरून् ।
नेपाली नागरिक फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रूपमा अघि बढ्नेछन् । राम्रो के हुन्छ भने राजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली नागरिकले गर्न सक्दछौँ ।’
उहाँले नेपाली नागरिकले नेपालको रक्षा गर्न, राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराउनुभयो।
उज्यालो अन्लाईन बाट साभार