अस्मिता साँखी झापा, जेष्ठ१७ । मैले धेरै पटक बोल्न चाहेर पनि बोल्ने ठाउँ नै भेट्टाएकि थिइन । या मलाई बोल्न अफ्ट्यारो लागिरहेको थियो । महिनैपिच्छे म आफैंले भोग्दै आएको अफ्ट्यारोको विषयमा पनि बोल्ने आँट गरेकी थिइन । किनकि म पनि छोरी नै भएर जन्मिएको छु । म जस्ता लाखौँ छोरीहरुको पिडा बोल्न पनि मैले हिचकिचाउनु पर्ने अवस्था कसले बनायो होला ? निसन्देह यो समाजले । यो समाजको अघि मैले बोल्न चाहेर पनि बोल्न नसकेको पिडा हो, महिनावारी अर्थात् रजस्वला ।
मलाई लाग्छ, हिजोका मानिसहरुले हिजो कै समाजलाइ मिल्ने नियम बनाएका थिए होला । पहिला धारा पधेँरा टाढा थिए, पानी बोकेर ल्याउन कठिन थियो । ब्यक्तिगत सरसफाइ गर्नुपर्छ भन्ने चेतना कमजोर थियो होला । महिनावारी भएको बेला महिलाहरु कमजोर हुन्छन, सरसफाइमा पनि त्यसबेला विशेष ध्यान पुर्याउनु पर्ने भएकाले पनि भान्साको काम गर्न नहुने भन्ने नियम बनाईएको हुनसक्छ । यस्ता नियमहरुले कतिपयलाई यस्तोबेला सजिलो पनि बनाईरहेको थियो होला ।
महिनावारीमा महिलाहरुले बार्ने कुराहरु देखि लिएर के गर्न हुन्छ के गर्न हुदैन भन्ने कुराहरु त्यसबेलाको समाजको लागि जायज मान्न पनि सकिन्थ्यो होला । तर के आजको समयमा त्यो सान्दर्भिक छ ? ब्यबहारिक छ ? अवश्य छैन । यस्ता नियमहरुले गर्दा महिलाहरुको दैनिकी नै अफ्ठेरो बनाइदिएको छ । महिनावारि भएको बेला खान, बस्न, काम गर्न देखि लिएर प्रयोग गर्नु पर्ने सामानमा पनि समाजको साँघुरोपन र बन्धनले कति धेरै अफ्ठेरो बनाइदिएको छ । महिनावारीको समयमा महिलाहरू अझै पनि आफ्नै घर परिवार र समाजसँग खुल्न सक्दैनन । यस्तो बेलामा खानेकुरा छुन हुदैन, मान्छेहरु देखि टाढा नै बस्नु पर्छ,अछुत बन्नुपर्छ । जुनबेला परिवार र समाजबाट झन धेरै आत्मीयता, सहयोग र मायाको खाँचो हुन्छ । त्यहिबेला झन अफ्ट्यारोमा पारिन्छ ।
अझैपनि महिनावारीको बेला अति आवश्यक पर्ने ‘प्याड’ शब्द पनि खुलेर उच्चारण गर्न सक्दैनन । पेट दुखेर सहन नसक्ने अबस्थामा मैले के गर्न हुन्छ के गर्न हुदैन भनेर डराउनु पर्छ । उनीहरु खुलेर भन्न सक्दैनन कि मलाइ पेट दुख्यो त्यसैले म यो काम गर्न सक्दिन । समाजको नियम कस्तो छ भने उनिहरुले खानेकुरा छुन देखि बाहेक अरु बाहिरी कामहरु चैँ गर्न हुन्छ अझ गर्नै पर्ने बाध्यता पर्छ। मन्दिर जान त रोक नै लगाउछ यो समाज । भगवान भन्ने चिज आजसम्म देखेको छैन तर पनि ढुंगाको मुर्ती बनाउछ अनि हामिले छुँदा गाली गर्छ । अचम्म त यो लाग्छ कि किन धेरै पढेका बिद्वानहरु पनि यो बिसयमा केही बोलिदिदैनन ? किन मौन छन किन ?
मलाइ एउटा प्रस्न सोध्न मन लाग्यो जनचेतना छर्दै हिन्ने अगुवाहरुलाई, के तपाइँहरुको श्रीमती, दिदिबहिनी,भाउजु बुहारीलाइ महिनावारीको समयमा तपाईंहरु सबैले छुनु भएको छ ?
संसार भरी नै सबै महिलाहरुलाई हुने कुरा हो महिनावारी । मात्र यो प्रक्रिया चलाउने र शृस्टी निरन्तरताको आधारभुत पहिलो रुप हो । तर हाम्रो नेपाली समाजमा महिनावारी, अपराध जस्तो हुन्छ, छुवाछूत हुन्छ किन ? मैले नै सुनेको छु, अनि मलाइ भनेका पनि छन महिनावारी हुँदा नछुने भको भनेर । अनि यो सुनिरहदा पनि बुझेका अगुवाहरु मौन नै बस्छन किन ? यसरी पनि कसरी हुन्छ परिबर्तन ? मलाइ एउटा प्रस्न सोध्न मन लाग्यो जनचेतना छर्दै हिन्ने अगुवाहरुलाई, के तपाइँहरुको श्रीमती, दिदिबहिनी,भाउजु बुहारीलाइ महिनावारीको समयमा तपाईंहरु सबैले छुनु भएको छ ? सँगै बसेर खानेकुरा खानु भएको छ ? पक्कै खानु भएको छैन, अनि कसरी हुन्छ परिबर्तन ? अझै कति पुस्ताले यो अफ्ठेरो भोग्नु पर्ने हो ? किन मौन छन हाम्रो समाजको बिद्वानहरु ? यो मौनताले कसरी हुन्छ परिवर्तन ?
के महिनावारी बिना मानव अस्तित्व सम्भव छ ? के फूल नफुली फल लाग्न सम्भव छ ? अवश्य छैन । जुन बेला महिला प्रकृती बन्छे, मानव अस्तित्वको मुल बन्छे । सृष्टि बन्छे । हो त्यहिबेला झन विभेद गर्छ समाज । झन पीडा दिन्छ समाज । यस्तो बेला झन धेरै नजिक हुनुपर्ने हो । झन धेरै सहानुभूति पाउनुपर्ने, माया पाउनुपर्ने हो । तर अझैपनि छाउपडी गोठमा बलात्कृत हुन बाध्य छे । पीडा सहेर मर्न बाध्य छे ।