दसैँ–तिहार सकिएपछि विदेश जानेको संख्या बढ्दा पनि राहदानी अभावले समस्यामा परेको छ। भदौ २४ को जेनजी आन्दोलनका क्रममा राहदानी विभागमा आगजनी र तोडफोड हुँदा तयार भइसकेका राहदानी तथा वितरण सामग्री जलेर नष्ट भएका थिए।हाल विभागसँग करिब डेढ लाख राहदानी मात्र बाँकी रहेको छ। यस अवसरमा बिचौलियाहरू सक्रिय भएका छन् र छिटो राहदानी बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग रकम ठगी गर्ने प्रयास भइरहेको छ। अहिलेसम्म १५ जनालाई पक्राउ गरिएको छ।
विभागका अनुसार विदेशी नियोगदेखि जिल्ला र इलाका प्रशासन कार्यालयहरूमार्फत दैनिक चार–पाँच हजार राहदानी वितरण गर्थ्यो, तर अहिले दैनिक दुई हजारमा झरेको छ। राहदानीको माग अत्यधिक भएकाले वितरणमा समस्या देखिएको छ। सरकारले राहदानी आपूर्तिका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग सम्झौता गर्ने तयारी गरेको छ। आइडेमियाले प्रति राहदानी १५.५१ अमेरिकी डलर प्रस्ताव गरेको भए पनि नेपाल सरकारले स्वीकार गरेको छैन। त्यस्तै, जर्मनीको कम्पनीसँग छपाइको व्यवस्था मिलाइदैछ। परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले राहदानी छिटो उपलब्ध गराउने प्रयासमा छन्। वैकल्पिक व्यवस्थापनको माध्यमबाट दुई साताभित्र समस्या समाधान हुने विभागले जनाएको छ।



