धनकुटा, असोज १३ –बिहान भालेको डाकसँगै धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कको कटहरे गाउँमा आरन बल्छ । आगोको रापसँगै फलाम रातो हुन्छ र घनको चोटले गाउँ गुञ्जिन थाल्छ । यही आरनमा पुस्तौँदेखि फाली, हँसिया, कोदालोलगायत कृषि औजार बनाउँदै आएका विश्वकर्मा समुदाय अहिले खुकुरी उत्पादनमार्फत आफ्नो गाउँको परिचय बदलिरहेका छन् । भोजपुर, खोटाङ र सङ्खुवासभाको प्रवेशद्वारका रुपमा रहेको कटहरेमा २३ घरपरिवार परम्परागत धातुजन्य हस्तकलामा आबद्ध छन् । केही वर्षअघिसम्म सामूहिक आरन घरमा पालो कुर्दै औजार बनाउने उनीहरू अहिले घरमै साना उद्योग सञ्चालन गरिरहेका छन् । अधिकांश घरमा ग्राइन्डर, ब्लोअर, कटिङ मेसिनलगायत आधुनिक उपकरण जडान गरिएका छन् ।
परम्परागत सीपमा आधुनिक प्रविधि जोडिएपछि कृषि औजारबाट खुकुरी उत्पादनतर्फ उनीहरूको व्यवसाय विस्तार भएको हो । पहिले दिनभर काम गर्दा पनि परिवार धान्न मुस्किल पर्ने अवस्था थियो । अहिले खुकुरीको बिक्रीबाट आम्दानी बढेको स्थानीय बताउँछन् । कटहरेमा बनेका खुकुरी स्थानीय बजारमा मात्र सीमित छैनन् । मागअनुसार काठमाडौँ हुँदै विदेशसम्म पुग्न थालेका छन् । गुणस्तर, डिजाइन र आकारअनुसार एउटा खुकुरीको मूल्य रु एक हजार ५०० देखि १२ हजारसम्म पर्ने गरेको स्थानीय बताउँछन् ।
खुकुरी उद्योगले गाउँको आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन ल्याएको स्थानीय झमक रसाइलीले बताउनुभयो । “पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै घरमा उद्योग छ । उत्पादनको मूल्य पनि राम्रो पाइन्छ, त्यसैले परिवारको खर्च चलाउन सजिलो भएको छ ।” एउटा परिवारले वार्षिक ४०० वटासम्म खुकुरी उत्पादन गर्दै आएको उहाँको भनाइ छ । उत्पादन बढेसँगै गाउँमा प्रचलित बालीघरे प्रथा पनि लगभग अन्त्य भएको छ । पहिले अन्नको साटो औजार बनाइदिने चलन थियो । अहिले उत्पादन नगदमा बिक्री हुन्छ । यसले श्रमको मूल्य बढाउनुका साथै पेसाप्रतिको सम्मान पनि बढाएको रसाइलीको अनुभव छ ।
बजारको मागसँगै खुकुरीको डिजाइनमा समेत परिवर्तन आएको छ । पहिले सामान्य प्रयोगका लागि खुकुरी बनाउने गरेको स्थानीय ताराबहादुर विश्वकर्माले बताउनुभयो । अहिले सजावटी, उपहार र सङ्कलनका लागि समेत खुकुरीको माग बढेको उहाँको भनाइ छ । “पहिले सामान्य प्रयोगका लागि मात्र खुकुरी बनाइन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले सजावटी, उपहारका लागि र सङ्कलनयोग्य खुकुरीको माग पनि बढेको छ । त्यसअनुसार उत्पादन गरिरहेका छौँ ।”
उद्योग विस्तारसँगै गाउँको जीवनस्तरमा समेत परिवर्तन आएको छ । फुसका छाना भएका घरहरू अहिले जस्तापाताले छाइएका छन् । अधिकांश परिवारले बालबालिकालाई विद्यालय पठाउन थालेका छन् भने उच्च शिक्षा पढ्ने युवाको सङ्ख्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । उद्योगले गाउँमै रोजगारी सृजना गरेपछि वैदेशिक रोजगारीमा गएका केही युवा पनि फर्किएको प्रेमबहादुर विश्वकर्माले बताउनुभयो । “विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा काम गरेर परिवारसँग बस्न पाइन्छ”, उहाँले भन्नुभयो, “विदेशमा पनि सीपबिना काम छैन, सीप भएकालाई यहीँ राम्रो सम्भावना छ ।”
खुकुरी उद्योगमा विभिन्न चुनौती पनि सामना गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । कच्चा पदार्थको मूल्य वृद्धि, आधुनिक उपकरणको लागत, बजार विस्तार र ‘ब्रान्डिङ’को अभावले उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन कठिनाइ भइरहेको उद्योगीहरू बताउँछन् । सरकारी निकायबाट प्रविधि, बजारीकरण र सीप विकासमा थप सहयोग पाए खुकुरी उद्योगलाई अझ व्यावसायिक बनाउन सकिने उनीहरुको अपेक्षा छ । पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ गाउँमै केही गर्न सकिन्छ भनेर उद्यम गरिरहेका युवालाई सहयोग गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले त्यसका लागि सरकारी नीतिअनुसार उनीहरूले सम्बन्धित निकायमा प्रस्तावना पेसलगायतका काम गर्नुपर्ने बताउनुभयो ।
कुनै समय गरिबी, अभाव र सामाजिक विभेद्का कारण पछि परेको कटहरे अहिले आफ्नै सीप र श्रमका कारण आर्थिक रूपमा उकासिँदै गएको छ । परम्परागत आरनलाई आधुनिक उद्योगमा रुपान्तरण गर्दै यहाँका शिल्पीहरुले खुकुरीलाई आम्दानीको स्रोतमात्र होइन, गाउँको नयाँ पहिचानका रुपमा स्थापित गरिरहेका छन् । कटहरेको आरनमा अहिले पनि घनको आवाज अझै उस्तै छ । पहिले जीविका चलाउने बाध्यता बनेको घनको आवाज अहिले गाउँको उद्यम र पहिचानको आवाज बनेको छ । रासस




