भरतपुर, ०२ कात्तिक
साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्डको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मगमग झापा–११ विरुद्ध सडन डेथमा विजयी हुँदै एपीएफले नेपाल आर्मीसँगको भीडन्त पक्का गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समय गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि गरिएको टाई–ब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलले सडन डेथको बाटो तय गरेको थियो । सडन डेथमा झापाका सुरज विकको प्रहार एपीएफका अमृत चौधरीले रोकेपछि दबाबपछि एपीएफका राजेन्द्र रावलले गोल गरे ।
एपीएफको जितमा नायक बनेका गोलरक्षक अमृत चौधरी म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए । अब सेमीफाइनल प्रवेशका लागि एपीएफले अर्को विभागीय टिम नेपाली आर्मीसँग कात्तिक ४ गते खेल्नेछ । यसअघि विकास रनिङ शिल्ड–२०७४ मा एपीएफले थ्रीस्टारलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा चौथो दिन आइतबार युनाइटेड दार्जिलिङले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।