चितवन । कालिका नगरपालिका–१, सूर्यपुरस्थित जुटपानी एकेडेमी स्काउट ट्रुपको आयोजनामा पाककला प्रतियोगिता तथा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको छ।
विद्यालयका प्राचार्य एवं स्काउट ट्रुप अध्यक्ष कमलप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सन्तोष बस्ताकोटी प्रमुख अतिथिका रूपमा रहेका थिए।
प्रतियोगितामा हाँस पेट्रोल प्रथम, परेवा पेट्रोल द्वितीय र सुगा पेट्रोल तृतीय भएका छन्। जस अन्तर्गत,हाँस पेट्रोलका स्वीकृति चौधरी, चाँदनी विक, प्रमिशा गुरुङ, कृषा लोप्चन, आकाङ्क्षा थिङ र एलिसा श्रेष्ठ प्रथम भएका छन्। त्यसैगरी,परेवा पेट्रोलका अर्विना पाख्रिन, सपना पुन मगर, नेना श्रेष्ठ, आरोही घलान, जेनि गुरुङ र दुर्गा थिङ द्वितीय तथा सुगा पेट्रोलका टेन्जु श्रेष्ठ, दिपशिखा थापा, दीक्षा लामा, सलमी स्याङ्बो, गुराँस परियार र कृष्टिना सुनुवार तृतीय भएका छन्।
कार्यक्रममा विकास राना मगर (टाइगर) उत्कृष्ट ब्वाइज स्काउट तथा स्वीकृति चौधरी उत्कृष्ट गर्ल्स स्काउटका रूपमा सम्मानित भएका छन्।
सोही अवसरमा प्रमुख अतिथि बस्ताकोटीले ४० जना विद्यार्थीलाई स्काउट दीक्षा प्रदान गरेका थिए। दीक्षान्त समारोहमा स्काउट प्रतिज्ञा, नियम, अनुशासन, सेवाभाव तथा जिम्मेवारीबोधको महत्त्वबारे प्रशिक्षण दिँदै दीक्षित विद्यार्थीलाई स्काउट आदर्श र मूल्य–मान्यतालाई व्यवहारमा उतार्न प्रेरित गर्नुभएको थियो। कार्यक्रममा दीक्षित विद्यार्थीलाई स्काउट स्कार्फ, ब्याज, वागललगायतका सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सापकोटाले स्काउट केवल पोशाक लगाउने, झण्डा बोकेर हिँड्ने वा प्रतियोगितामा सहभागी हुने संस्था मात्र नभई विद्यार्थीलाई अनुशासित, आत्मनिर्भर, सेवाभावी, जिम्मेवार र असल नागरिक बनाउने जीवनोपयोगी अभियान भएको बताउनुभयो।
उनले पाककला प्रतियोगिताले विद्यार्थीमा सिर्जनशीलता, व्यावहारिक सीप, सहकार्य, समय व्यवस्थापन, नेतृत्व क्षमता र आत्मनिर्भरताको विकास गर्ने उल्लेख गर्दै पुस्तकको ज्ञानसँगै व्यावहारिक सीप पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो।
दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै सापकोटाले स्काउट प्रतिज्ञा औपचारिकतामा मात्रै सीमित नराखी जीवनभर व्यवहारमा उतार्न अनुरोध गर्नुभयो। सत्य बोल्ने, अनुशासनमा रहने, ठूलालाई आदर र सानालाई माया गर्ने, प्रकृतिको संरक्षण गर्ने तथा आवश्यक परेको ठाउँमा निःस्वार्थ सेवा गर्न तत्पर रहने संस्कार विकास गर्न समेत उनले जोड दिभयो।
विद्यालयमा हुँदै आएका स्काउट गतिविधिले विद्यार्थीहरुमा असल संस्कार, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास भइरहेकोमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
त्यस्तै, स्काउट शिक्षक जीवन बस्नेतले प्रतियोगितामा जित हासिल गर्नुभन्दा सिकाइ, अनुभव र असल व्यक्तित्व निर्माण महत्त्वपूर्ण रहेको बताए। उनले हार र जितलाई सहज रूपमा स्वीकार गर्दै निरन्तर अघि बढ्न विद्यार्थीलाई प्रेरित गर्दै उनीहरू नै भविष्यका सक्षम नेतृत्व, जिम्मेवार नागरिक र राष्ट्रका उज्ज्वल भविष्य भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यालयका स्काउट शिक्षक जीवन बस्नेत, निम्न माध्यमिक तह इन्चार्ज अस्ना भण्डारी बस्नेत, माध्यमिक तह प्रमुख नारायण सापकोटालगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।
वि.सं. २०५९ मा स्थापना भएको जुटपानी एकेडेमीमा हाल करिब ५०० विद्यार्थी, २२ शिक्षक तथा तीन कर्मचारी कार्यरत छन्। विद्यालयले नियमित पठनपाठनसँगै रेडक्रस, स्काउट तथा तेक्वान्दोजस्ता अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ।
विद्यालयमा सञ्चालित स्काउट गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मनिर्भरता, सहकार्य, अनुशासन तथा सामाजिक सेवाको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको प्रधानाध्यापक सापकोटाले बताउनुभयो।




