काठमाडौ, १८ । कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना कोरोना संक्रमित शिशुको निधन भएसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको हो ।
टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको निधन भएको जानकारी दिए । शिशुलाई मंगलवार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार साँझ निधन भएको हो ।
शिशुलाई उपचारका लागि ३ साता अघि अस्पताल लगिएको थियो । जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका शिशुलाई कोरोना पुष्टि भएको थियो ।म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।
शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो । शिशुको हिजो बेलुका निधन भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।