काठमाडौं : देशका तीनवटा प्रदेशमा आज वर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।