के देश भनेको ग्लोरिफाईड गरिएको गोर्खाली इलिभेटेट इतिहास र फुस्किन लागेको सुरवालको इजारका दुई टुप्पा बुद्ध र सगरमाथा मात्र हुन ? कहिल्यै फर्केर हेर्नू भएको छ ? देश कसरी उजाड, भद्दा र बिरक्त लाग्दो बाचिरहेको छ ? कि देश निस्सासिएर देश छाड्न खुट्टा उचालिरहेका बिद्यार्थी, श्रमजिवी र महिलाहरु पनि हुन् ? सोच्नुभएको छ ? ढाड भाचिने गरि काम गर्दा पनि पेट भर्न नसक्ने मान्छेले पेट भर्न के सम्म गर्न सक्छ ?
देश मान्छे ओसार्न आईपुगेको जहाज बस्ने एयरपोर्ट हैन, यसले ओसारेर लगेको आशु हो । पसलमा बिकेको रुमालको मूल्य हैन त्यसले पुछ्ने कसैले झुठो हालेको कलिलो ओठको लाचारी हो ।
नेपाल अचेल ठूलो सुपरमार्केट हो । सुपरमार्केट जस्ले सामान पनि बनाउदैन, पैसा पनि बनाउदैन, तर हेर्दा झलक्क टलक्क देखिन्छ । एउटाले बिदेशबाट पैसा पठाउछ, अर्काले बिदेशबाट सामान पठाउछ । बिदेशबाट ल्याएको सामान, बिदेशबाट ल्याएको पैसाले बेचिन्छ/ किनिन्छ । अचेल त नपुगेर सरकारले रिन पनि बेसाउछ । यस प्रकृयामा तीन बर्गलाई सजिलो छ
यसो हेरौ :
केही महिना अघि नेपाल पुगेको बेला आफू संगै पढेका साथीहरु खोजे । ति सबै अब्बल बिद्यार्थी थिए ।मलाई सम्झना भए सम्म बाह्र/चौध स्कुलका सबैभन्दा होनहार देशका कर्णधार थिए । तर, इन्जिनियरिङ गर्दा ताकाका मुश्किलले 4/5 जना साथीहरु नेपाल रैछन । देशका कर्णधार आफ्नो जिन्दगि बनाउँदा बनाउदै देशको भूगोल छडिसकेछन । करिब 4/5 कम्पनीहरुमा काम गरे, त्यहाँ काम गरेका साथीभाई/दिदिबहिनि मध्ये प्रायः कोहि नेपाल रैनछन । मुस्किलले बचेका केहि साथीहरु भेटे । जति भेटे उहीँ दुखी आत्मा, दुखेसो, गन्थन र पिडाका पोका मात्र भेटे । समुहमा तिनीहरुले जाबो विदेश नि के जाने भने, एक्लै भेट्दा कसरि जाने यार भनेर सोधे । मलाई के भन्ने, के गर्ने थाहा भएन, रनाहामा परे/बसे ।
ईन्जिनियरिङ, नर्सिङ, कृषि, बन सबै सबैका साथीभाई कोहि नेपाल छैनन । तपाईंको आफ्नो संगत कस्तो छ, त्यसमा भर पर्ला तर मेरा प्राय: संगतिहरु कोहि नेपाल छैनन । हुन त सबैको आफ्नै महत्व छ, तर यस्तो सबैले कसैले कसैले मात्र पढ्न पाउने बिषय पढेर भाग्यमानी भए भन्नेहरु कोहि रैनछन ।
नेपालमा बसिरहेका केहि साथीहरूले भन्छन, मर्दा पर्दा यहि आउन पर्ने होला । तिमिहरु जस्ता देशका माया नभएकाहरु गएकै जाती । बाहिर बसिरहेको मान्छेले छुचो भएर बोल्न मन गरिन, फिस्स हासे र उडाईदिए ।
यस्तो देखिन्छ :
ठुला ठुला ब्यापारिक मल बनेका छन । क्लब, क्यासिनो, पब, भट्टी बढेकै छन । कोरोनाकै बेला पनि देशमा टन्न क्लब, बार थपिएछन ।रक्सि पनि अचेल ब्रान्ड ब्रान्डका पाईन थालेछन । नयाँ नयाँ सामान र सुबिधा थपिएकै छन । देशमा के छैन ? सब थोक छ । यस्त्तो चकाचक हुँदै गरेको देश छाड्ने मान्छे कति मूर्ख हेर्नुस त । अझ हुदाखादा को जागिर छोडेर बिदेश, तैट कस्तो नराम्रो सोच । गरे के छैन ?
सत्यता :
नेपाल अचेल ठूलो सुपरमार्केट हो । सुपरमार्केट जस्ले सामान पनि बनाउदैन, पैसा पनि बनाउदैन, तर हेर्दा झलक्क टलक्क देखिन्छ । एउटाले बिदेशबाट पैसा पठाउछ, अर्काले बिदेशबाट सामान पठाउछ । बिदेशबाट ल्याएको सामान, बिदेशबाट ल्याएको पैसाले बेचिन्छ/ किनिन्छ । अचेल त नपुगेर सरकारले रिन पनि बेसाउछ । यस प्रकृयामा तीन बर्गलाई सजिलो छ
ब्यपारी :
ब्यपार र ब्यबसायमा पक्का फरक छ । ब्यबसाय त उहीँ हो, ब्यपार गर्ने बिचौलियाहरु जसरी पनि धनी बन्छन । सामान किन्ने र बेच्ने त्यो सबैभन्दा राम्रो ठाऊ हो नेपाल । हाम्रो तिर चलन थियो, ब्यापार गर्न बेनी (म्याग्दी ) जाने भन्ने । किनकि त्यहाँ कुनै समय लाहुरे धेरै थिए । अहिले त देशै भरि लाहुरे, देश भरिकै स्कुल, बिद्यालय लाहुरे बनाउने कारखाना । “ ह्युमन फ़ार्मिङ्ग ” ।
नेता : नेताहरु ब्यापारीबाट सन्चालित हुन्छन र उनिहरुले दिएको कमिसनबाट राज्यको पोलिसी नियन्त्रित छ/ हुन्छ । जस्तो कि देशमा चकलेट बेच्न बजेट भाषणले कर छुट दिन्छ । प्रिण्टीङ्ग प्रेस मगाउन ब्यापारीले मन्त्रि किन्छ । होटेल खोल्न ब्यापारीले धर्मशाला किनिदिन्छ ।
कर्मचारी : नेता र ब्यपारीको चङुलमा बसेका कर्मचारी जता दुधभात उतै जान्छन र आफ्नो प्रभुत्व जमाउछन । उनीहरुलाई गलत थाहा हुन्छ तर चुपचाप बस्छन । ब्यापारीले चलाएको स्कुलमा छोराछोरी पढाउन, र भट्टीमा रक्सी पिउन त छदै छ ।
दृश्य :
डाक्टर, इन्जिनियर, पाईलट, नर्स, प्रोफेसर सबै सबै फाल्तु पेशा हुन अहिले । उनिहरु स्वघोसित महान नेता, ब्यपारी र कर्मचारीको दिमागले नभेट्ने बेला मात्र काम लाग्ने पात्र हुन । अस्पतालमा अप्रेशन कसरी गर्ने भन्ने पनि कतिपय नेताले सिकाउन बेर लाउदैनन । उनिहरु यी सबैलाई पैसाले किन्न सक्छन, किनकी पैसा त उहीँ ट्रेङलमा (ब्यपारी, नेता र कर्मचारी ) नै छ । अचेल विद्वान भाईबहिनीमा ब्यापार गर्ने भुत पनि उत्तिकै चढ्न थालेको छ । कारण उही हो पैसा ।
टेलिभिजनको पर्दामा देखिने ठुला कलाकार, गुपचुप पैसा कमाईरहेका कर्मचारी आदि इत्यादी सबै मिलेसम्म नेपाल बसे जस्तो गर्छन तर कुनै न कुनै हिसाबले देश बाहिर बस्ने प्रबन्ध मिलाउछन । मलाई सोध्न नआउनु कहाँ देखियो त्यस्तो भन्दै ? जनताले आशा छ यो सबै जानेकै छन ।
(नबिर्सनु कति कलाकार, कर्मचारी र नेताहरु पिआर धारी भनेर चर्चित छन । कति छोराछोरी जन्माउन बाहिर जान्छन । कति सिटिजन भएसि फर्कन्छन । )
पार्टी, डिस्को, रक्सी र मदहोसि सबै चर्चित छन अचेल । नेपालमा अचेल बस्दा उठ्ने बिल र बिदेशमा उठ्ने बिलमा खास फरक छैन । किनकी यो सुपरमार्केट हो । यहाँका हरेक सफलताका कथा पढ्नुस, ब्यपार बढी र उत्पादन कम छन । जस्तो कि केफसि, बर्गर हाउस, रोडहाउस यी सफलताका कथा हुन । ती सबै ब्यपार मात्र हुन ।
चर्चा र प्रशंग :
बोलु बोल्न गाह्रो, नबोलु देख्नै मुश्किल । बिश्वबिद्यालय, प्राज्ञिक सदन, भाषा, कला सबै कोमामा छन, न यिनको चर्चा छ न अस्तित्व । युट्युबमा कसको घरबार बिग्र्यो र कसको सप्र्यो ट्रेण्डिङ्गमा छन । यस्तो लाग्छ देश मदिरा, पैसा र यौनको रतिक्रिडामा ब्यस्त छ । नेताहरु घुम्ने कुर्शीमा बसेर दृश्यपान गरिरहेका छन् ।
केहि त कारण होला, गाउँको टाठोबाठो, स्कुलको जान्नेसुन्ने, छिटो कुरो बुझ्ने सिक्ने सबैभन्दा पहिले कुम्लो बोकेर हिड्नलाई ।
परिदृश्य :
तपाईंलाई लागे होला, यत्रो जानेको मान्छेले किन परिवर्तन नगरेको ? बुझेको मान्छे भन्ने अनि भाग्ने ? कुरा के हो भने, भागेको हैन, अहिले लेखेको पनि अरुले मेरो मनमा लागेको सुनुन भनेर हो नि । यस्तो चङुल भर्खरै नयाँ नेतालाई भोट हालेर मात्र भत्केला जस्तो लाग्दैन अचेल मलाई । यो एकै पटक सबैले दुख पाए भने मात्र परिवर्तन हुन्छ जस्तो लाग्छ । त्यस्तो भैरहेको छैन । उहीँ राजाले आफ्नो हातमा शासन लिन पुर्व जुन नेतालाई राज थियो अहिले पनि उसैलाई छ ।
माफ गर्नुहोला अधिकांश मान्छेहरु केवल अवसरबाट बन्चित हुन् , अन्यथा ति सबै लुट्न र पैसा कमाउन पाए भने बाकि सबै मुद्दा छाडिदिन्छन । हाम्रो स्वाभिमान पैसा र मनोरन्जन अलिक होचो नै छ, बाँकि त त्यहि भजन गाउने, रमाउने मात्र हो ।
बाहिरबाट :
देश सकेसम्म लुट्ने, सानालाई होच्याउने, काम गरेर खानेलाई पेल्ने, दुख गर्नेलाई मान्छे नगन्ने, काम ठूलो सानो भन्ने, पढेलेखेलाई माखो नमान्ने सके पैसा टन्न तिरेर डिग्री लिने, मिलेसम्म पैसा कमाउने मोज मस्तिमा जिन्दगी बिताउने नरकिय क्षेत्र हो । यति हुदा पनि एउटा सुन्दर पक्ष छ, फुर्सद नै फुर्सद भएकोले सहयोग र समय मान्छेले अर्कालाई प्रशस्त दिन्छन ।
यसरी औकात नाप्ने देश नामको मेशिनमा “डलर सन्चिती” घटेको सुन्नमा आएको छ । आफ्नो आफ्नो कुरा हो, बरु सकिएर त्यो पैसा पैसा गर्नेको पैसाको अर्थ नभएको र देश दुख: बाट बाउन्स ब्याक भएको हेर्न मन छ ।
पुनःश्च : देश रित्तो भएको दृश्य हेरि नसक्नु छ । युरोप, अमेरिका, अस्ट्रेलिया गएकाहरु फर्किन गाह्रो छ । यिनिहरु उतै/यतै घर किन्छन, बस्छन । देश भन्नू त श्रममा बिदेश गएका, कतार पसेर रेमिट्यान्स पठाउनेहरु नै हुन । यस्तो मान्छे बेचेर देश धान्ने देशको गौरब गाथा कृपया नसुनाउनु होला मलाई ।