धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत फेला परेका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ।
माघ ११ गते गोठालो गएका बेला बेपत्ता भएका उनीहरू भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएका थिए। ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरीको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरी अनुसन्धानबाट खुलेको हो।
हत्या प्रकरणमा दुई किशोर पक्राउ
हत्या आरोपमा ढकारी गाउँपालिका-३ तालीका दुई किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले दुवै किशोरलाई सार्वजनिक गरेका छन्। तर, उनीहरू नाबालक भएकाले नाम खुलाइएको छैन।
प्रेम सम्बन्ध र पहिलो भेटमै हत्या
प्रहरी अनुसन्धान अनुसार, मृतक इशरा खड्का र एक आरोपी किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो। उनीहरूको सम्बन्ध प्रेममा परिणत भए पनि प्रत्यक्ष भेट भने भएको थिएन।
हत्या आरोपी किशोरहरू माघ महिनामा कोसेली लिएर फुपुको घर गएका थिए। सोही मौकामा किशोरीहरूसँग भेट्ने योजना बनाएर छिन्ने जंगल पुगेका थिए।
सरस्वतीको हत्या: प्रेम प्रस्ताव अस्वीकार गर्दा क्रुर आक्रमण
भेटका क्रममा आरोपीमध्ये एक किशोरले सरस्वतीलाई प्रेम प्रस्ताव राख्दै विवाहको प्रस्ताव गरे। तर, सरस्वतीले अस्वीकार गरिन्। त्यसपछि उनले जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरे। जब सरस्वतीले प्रतिवाद गरिन्, उनले ढुंगाले हानेर उनको हत्या गरे। हत्या लुकाउन उनले भीरमाथिबाट ठूलो ढुंगा खसाले।
इशराको हत्या: साक्षी बनेपछि अर्को क्रुरता
सरस्वतीको हत्या हुँदा इशरा तल बाख्रा चराउन गएकी थिइन्। तर, ढुंगा खस्ने आवाज सुनेर जब उनी घटनास्थलमा आइन्, सरस्वतीको शव देखिन्।
इशराले आरोपितहरूलाई सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गर्ने बताइन्। त्यसपछि आरोपितहरूले इशरालाई पनि मार्ने योजना बनाए। दुवैले मिलेर ढुंगा प्रहार गर्दै उनको हत्या गरे।
हत्या लुकाउने प्रयास असफल
हत्या भएपछि घटनालाई दुर्घटनाजस्तो देखाउन भीरबाट लगातार ढुंगा खसालिएको प्रहरीले बताएको छ। तर, प्रत्यक्षदर्शी १० वर्षीय नाबालकको बयानका आधारमा अनुसन्धान अघि बढाइयो।
तीन जनाले ढुंगा खसालिरहेको देखिएको जानकारी पाएपछि प्रहरीले अनुसन्धान तीव्र पार्यो। अनुसन्धानकै क्रममा गाउँबाट भाग्ने योजनामा रहेका दुई किशोर पक्राउ परे।
प्रहरीले एक नाबालकलाई सरकारी साक्षी बनाएको छ भने अन्य दुईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको छ।