चितवन, वैशाख २५ चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु हुने भएको छ । एसवन होम्स र भी ग्रुपको आयोजनामा उद्याेग वानिज्य सघ नारायणगढमा ‘घर बनाउने’ मेला हुन लागेको हाे ।
घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । देशकै केन्द्र विन्दु र हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गरी मेला गर्न लागिएको संयोजक विपीन कँडेल जानकारी दिनुभयो ।घर तथा बसोबास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन सरकारी निकाय र निजीक्षेत्रको सहकायमा चितवनमा पहिलो पटक घर बनाउने मेला आयोजना गर्न लागिएको उहाँको भनाई छ ।
मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउनेबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट लिन सकिनेछ । घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा पनि जानकारी गराइनेछ । घर तथा भवन निर्माण गर्दा चाहिने सामाग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरीदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट गराइने संयोजक कँडेलले जानकारी दिनुभयो ।
उद्योग बाणिज्य संघ चितवनको परिसरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी हालसम्म ३० वटा स्टल बुकिङ भैसकेको छ।
तीन दिनसम्म चल्ने मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ । मेलामा ८२ जना श्रमिकलाई सम्मान गरिने छ । उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने यस मेला उद्योग वाणिज्य संघ चितवनको परिसरमा हुन लागेको हो ।