चितवन, असोज १- देशभर जेन-जी आन्दोलनपछि लुटपाट र चोरीका घटना दिनानुदिन बढ्न थालेपछि रत्ननगर-१५स्थित छहारी टोलका स्थानीयहरुले रातभर गस्ती गर्न शुरु गरेका छन।
कहाँलिलाग्दो आन्दोलनलगतै मुलुकभरको परिस्थिति विषम बनेको भन्दै सो टोलले रातभर गस्ती गर्ने निर्णय गरेको हो ।
देशभरका सुरक्षाकर्मीको गिर्दो मनोवल र तत्काल प्रहरीबाट सहयोग प्राप्त हुने अवस्था नदेखिएकोले
समाजको सुरक्षा अवस्थालाई ख्याल गर्दै टोल भेला राखी टोलवासी सबैको इच्छा बमोजिम रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको टोलका अध्यक्ष बिष्णु प्रसाल लम्सालले जानकारी दिनुभयो।
टोलबासिको सल्लाह बमोजिम रातको समयमा १०/१० जनाको समूह बनाई साताको प्रत्यक दिन पालो गरेर सो टोलले सुरक्षा दिदै आएको छ।
टोलवासीहरुले सामूहिक रुपमा गस्ती गर्दा एक आपसमा आत्मियता बढ्नुका साथै टोल समेत सुरक्षित रहेको अनुभूति भएको लम्सालले बताए।
यस कार्यलाई नजिकिदै गरेको महान चाड दशैँ र तिहार सम्म निरन्तरता दिने टोलवासीहरुले बताएका छन् ।
विगत देखि नै सो टोलका टोलवासीहरुको सक्रिय सहभागितामा वातावरण संरक्षण,प्रवर्द्धन ,सुरक्षा,विकास र सशक्तीकरण लगायतका क्षेत्रमा थुप्रै कार्यहरु हुँदै आएका छन।