मोरङमा पछिल्ला तीन महिनाभित्र दुई बालिकाको शव नग्न अवस्थामा फेला परेपछि प्रहरी गम्भीर चुनौतीमा परेको छ। २८ असारमा बुढीगंगा क्षेत्रमा सिँचाइ आयोजनाको नहर किनारमा भेटिएकी १४–१५ वर्षीया अन्दाजी बालिकाको पहिचान चार महिनासम्म खुल्न सकेन। कपडा र चप्पल भेटिए पनि न त परिवार आए, न त हराएको उजुरी दर्ता भयो। भारतीय हुन सक्ने आशंकामा दुवै देशका सुरक्षातन्त्रबीच समन्वय गरिएको प्रहरीले जनाएको छ। मेडिकल रिपोर्टले बलात्कार पुष्टि गर्न नसकेपछि अनुसन्धान स्थगित छ।
यता, २१ असोजमा हराएकी लेटाङ–२ की १३ वर्षीया अंशु गौतम १८ दिनपछि बेलबारी–चिसाङ वनमा क्षतविक्षत अवस्थामा फेला परेकी थिइन्। कपडा नभएको र शरीर टाउको छुट्टिएको अवस्थामा भेटिएको घटनाले घृणित अपराध संकेत गर्छ। तर मोबाइल प्रयोग नगर्ने भएकाले घटनाको श्रृंखला जोड्न प्रहरीलाई कठिनाइ भइरहेको छ।
सीआईबी, प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोलीले अंशुको हत्यारा पहिचानका लागि पोलिग्राफसहितका सबै विधि प्रयोग गरिरहेको मोरङ प्रहरीको भनाइ छ। तर ठोस नतिजा नआएपछि दुवै घटनाले स्थानीयमा त्रास बढेको छ। अंशुको शव अझै बीपी कोइराला प्रतिष्ठानमै राखिएको छ भने परिवारले पक्राउ नभएसम्म बुझ्न अस्वीकार गरेका छन्।
