त्रिभुवन राजमार्गको विकल्पका रूपमा २०१३ सालदेखि निर्माण थालिएको कान्ति राजमार्ग ६९ वर्ष बितिसक्दा पनि पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार राजमार्गको निरीक्षण गर्दै पुनर्निर्माणका कामलाई आगामी वर्षाअघि सक्न निर्देशन दिएका छन्।
काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग मानिने यस राजमार्गका विभिन्न खण्ड गत असोजको बाढी–पहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ। ललितपुरतर्फ करिब २० किलोमिटर र मकवानपुरतर्फका केही स्थानमा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ। चार प्याकेजमा ठेक्का दिएर पुनर्निर्माण कार्य अघि बढाइएको छ, जसको ठेक्का रकम करिब साढे १ अर्ब छ। २०१३ सालमा नेपाली सेनाले ट्रयाक खोल्ने काम सुरु गरेको यो राजमार्ग २०१६ सालदेखि सवारीसाधन चल्न थालेको थियो। तर २०१८/१९ मा बागमती नदीको बाढीले काठे पुल बगाएपछि यातायात अवरुद्ध भएको इतिहास छ। २०६० सालमा कोइकाले डीपीआर बनाएपछि दुई लेन स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो।
हालसम्म ७५.९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। पहिरो, कमजोर भू–संरचना, सडक सीमा निनिर्धारण, अतिक्रमण र पुल निर्माणमा ढिलाइले परियोजना पटक–पटक प्रभावित हुँदै आएको छ। यद्यपि सडक क्षेत्रका बासिन्दाका अनुसार राजमार्गका कारण कृषि उत्पादन, दूध तथा तरकारीको बजार पहुँच बढेको छ। साथै काठमाडौं–तराई द्रुतमार्ग निर्माण सामग्री ढुवानीमा पनि कान्ति राजमार्ग महत्वपूर्ण सहयोगी बनेको छ।




