काठमाडौँ – इथियोपियाको अफार क्षेत्रमा हाइली गुब्बी ज्वालामुखी विस्फोट भएपछि नेपालबाट कतार जाने उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान १०:०० र ११:०० बजे उड्ने तय भएका कतार एयरलाइन्सका दुईवटा वाइडबडी जहाज ज्वालामुखीबाट निस्किएको धुवाँका कारण उड्न सकेका छैनन्। विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डे का अनुसार, “ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण जहाज उडेका छैनन्। राति २:०० बजेसम्म उड्ने सम्भावना छ। अन्य हवाई उडानमा हाल कुनै प्रभाव परेको छैन।”
उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै आउने जानकारी प्राप्त भएको छ। यस कारण काठमाडौँ–दोहा र दोहा–काठमाडौँको उडान तालिकामा असर परेका छन्। हाल, यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा रोकेका छन् र उनीहरूको सुविधा तथा जानकारीका लागि सम्बन्धित एयरलाइन्स र विमानस्थलको समन्वय जारी छ।



