चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित एक केरा बारीभित्र गाई काट्दै खाइरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। स्थानीयबाट प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले सोमबार दिउँसो करिब २ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायव निरीक्षक उज्ज्वलराज चितुवालको कमाण्डमा पुगेको टोलीले घटनास्थलमा पुगेका बेला तीन जनाले गाई काटेर मासु खाइरहेका थिए। त्यस्तै, अझै तीन जना गाई काट्ने प्रक्रियामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।उनका अनुसार, मासु खाने र काट्नेसहित सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
खनालका अनुसार, घटनामा केही कम उमेरका व्यक्तिहरू पनि संलग्न भएकाले, कानूनी सुरक्षा र गोपनीयता कारण उनीहरूको नाम विवरण सार्वजनिक गरिएको छैन।घटनास्थल इलाका प्रहरी कार्यालय खैरहनीबाट करिब ७ किलोमिटर दक्षिणतर्फ पर्ने केरा बारी क्षेत्र रहेको बताइएको छ ।



