धनगढी – हातहातमा पुगेको इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सुदूरपश्चिम प्रदेशमा साइबर अपराध बढ्दो चिन्ता उत्पन्न भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी र सुरक्षा सतर्कताको कमीका कारण धेरै युवा सजिलै अपराधको सिकार बन्दैछन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा ३६४ वटा साइबर अपराध उजुरी दर्ता भए, जसमध्ये केवल १६ वटा मुद्दा दर्ता भए। २०८१/०८२ मा उजुरी ३९७ पुगे पनि मुद्दा दर्ता मात्र १२ मा सीमित रह्यो। चालु आर्थिक वर्ष मंसिरसम्ममा १३५ उजुरी दर्ता भए, तर मुद्दा दर्ता मात्र ६। कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार, फेसबुक, टिकटक, ई–सेवा र अन्य बैंकिङ एपमार्फत भएका अपराधको संख्या निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा कैलालीमा २३७ उजुरी दर्ता भए।
साइबर अपराधमा सबैभन्दा बढी १४ देखि २६ वर्ष उमेर समूहको युवा संलग्न देखिन्छ। किशोरकिशोरीहरू साथीभाइको देखासिकी, प्रेम सम्बन्ध र अनलाइन गतिविधिबाट अनभिज्ञताका कारण सजिलै अपराधमा फस्ने गरेका छन्।प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार, सामाजिक सञ्जालको गलत प्रयोगले नक्कली प्रेम, ब्ल्याकमेल, चरित्रहत्या जस्ता घटनाहरू बढाएको छ। यसले पीडितको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने र कतिपय अवस्थामा आत्महत्या जस्ता घटनासम्म निम्त्याउने गरेको छ।
साइबर अपराध रोक्न प्रहरी, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको प्रहरीले बताएको छ। विष्टका अनुसार, अभिभावकहरूले आफ्ना छोराछोरीको अनलाइन गतिविधिमा निगरानी बढाउने र खुला संवाद गर्ने हो भने धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ। साथै, विद्यालयको पाठ्यक्रममा साइबर सुरक्षा अनिवार्य विषयका रूपमा समावेश गर्नु र सामाजिक संघसंस्थाहरूको सचेतना अभियानले समेत योगदान दिन सक्ने देखिएको छ।



