पुस ११ गतेदेखि इच्छाकामना गाउँपालिकामा दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना हुने भएको छ। चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा हुने महोत्सव पुस १५ गतेसम्म सञ्चालन हुनेछ।
आयोजकले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै रामहरि कँडेल, अध्यक्ष, चितवन उद्योग सङ्घ इच्छाकामना समितिले महोत्सवमा ५० भन्दा बढी स्टल रहने र इच्छाकामनाका १०० जना सुन्तला किसानले प्रत्यक्ष लाभ पाउने जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक रु ९ करोडदेखि १० करोडको कारोबार हुने बताए। यद्यपि केही बगैँचा नष्ट भएका कारण उत्पादनमा गिरावट आएको उल्लेख गर्दै, उनले बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न बीउ वितरण, प्रविधियुक्त सामग्री, टिपाइ, गोडमेल, गोठेमल र सिँचाइ व्यवस्थापनमा सहयोग भइरहेको जानकारी गराए।
गाउँपालिकामा धार्मिक स्थल र प्राकृतिक आकर्षणले भरिपूर्ण क्षेत्र भएकाले महोत्सवले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। मुग्लिन बजार क्षेत्रमा हुने यस महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यावसायिक सञ्जाल विस्तारमा सहयोग पुग्ने बताइएको छ।



