भरतपुर । विश्वभरी छाइरहेको कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोना भाइरसको संक्रमण जोखिमले सम्पूर्ण क्षेत्र ठप्प छ। संक्रमण रोकथामका लागि लकडाउन गरिएको छ।
रोजगारीका लागि भरतपुरमा कोठा लिएर बसेका नागरिक यसको प्रत्यक्ष मारमा परेका छन्। सबै ठप्प हुँदा रोजगार पनि खोसिएको छ। यस्तो बेला कोठा भाडामा लिएर बस्नेहरुलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता छ। यो चिन्ताका बीच केही शुभ समाचार पनि सुनिए। भरतपुरको हाकिमचोकका एक मनकारी घरधनीले चैत्र महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।
ती घरधनी हुन् नारायण कंडेल । बुवाले आफ्नो घरमा बस्नेहरुलाई चैत महिनाको भाडा नलिने घोषणा गरेका छोरा निर्मल कंडेलले नारायणी दैनिकलाई फोन मार्फत बताउनु भयो । ‘एक महिनाको भाडा नलिने जानकारी भाडामा बस्ने सवैलाई गराएको छु, सवै मिलेर कोरोनाबिरुद्ध लडनका लागि हामीले यस्तो निर्णय लिएको हौ ,’कंडेलले भन्नु भयो । कंडेलको घरमा ६ वोटा कोठा भाडामा छन् । प्रचारबाजीको लागि नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको बताए ।
‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु हाम्रो कर्तब्य हो, घरमा भाडामा बसिरहनुभएकाहरूलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ, साथै लक डाउनको अवधिमा कसैलाई बस्नु परेमा पनि एउटा कोठा खाली छ, खानाको र बस्नको निसुल्क व्यवस्था गर्न तयार छौ ” साथै उहाले बिजुली पानी तथा इन्टरनेटको पनि सुल्क नलिने बताउनु भएको छ ।
घरभाडा नलिने घोषणा गरेपछि नारायण कंडेलको चौतर्फी प्रशंसा भइरहेको छ । यस्तै घरबेटी अरु पनि भइदिए बाहिरबाट आउने र विभिन्न पेशामा लाग्नेहरुलाई राहत मिल्थ्यो कि ?