नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ, भने दोस्रो मुकाबिलामा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
चारै टोली आजको पहिलो खेलबाटै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। चितवनको कप्तानी कुशल मल्लले सम्हाल्नेछन् भने कर्णालीलाई सोमपाल कामीले नेतृत्व गर्नेछन्। यस्तै विराटनगर किंग्सको कमान्ड सन्दीप लामिछानेले सम्हाल्नेछन् र पोखरा एभेन्जर्सका skipper कुशल भुर्तेल रहनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ। यस जितसँगै काठमाडौंले अङ्कतालिकामा पहिलो दुई अंक जोडेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको एनपीएलको फाइनल मंसिर २७ मा हुनेछ। विजेता टिमले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।



