सिद्धान्त बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजबीच हुने खेलबाट अघि बढ्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेपछि सुरु हुने खेलमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम उपाधि यात्राको सुरुवात गर्दै छ भने काठमाडौं लगातार दोस्रो जितको खोजीमा हुनेछ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाडौं अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। बलियो विदेशी खेलाडी संयोजन र पूर्वराष्ट्रिय प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणमा रहेको काठमाडौं यसपटक उपाधि दावेदारको रूपमा देखिएको छ। पहिलो खेलमा मिलिन्द कुमारले ३ विकेट सहित उत्कृष्ट प्रदर्शन गरेका थिए। टोलीको नेतृत्व करण केसीले गर्नेछन्।
यता अघिल्लो सिजन उपाधिनजिक पुगेर चुकेको सुदूरपश्चिम यसपटक Jagat Tamatta को प्रशिक्षणमा स्पष्ट लक्ष्यसहित मैदानमा उत्रिंदैछ। क्रिस लिन, जोश ब्राउन, स्कट कुगेलिनलगायत पाँच विदेशी खेलाडीसमेत अनुबन्ध गरेको सुदूरपश्चिमको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हाल्नेछन्।
विदेशी खेलाडीको सन्तुलित प्रदर्शनसँगै दुवै टोली आजको खेलमा उच्च प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ।



