५ मंसिर, चितवन । भरतपुर महानगरपालिकामा २१० किलोमिटर सडक क्षेत्रमा स्मार्ट बत्ती जडान गरिएको छ। ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारीमा मुख्य चोकदेखि भित्री सडकसम्म कुल ६ हजार बत्ती जडान भएका छन्।
महानगरका अनुसार दुई चरणमा १६ वटा हाइमास्ट र ७५ वटा मिनमास्ट बत्ती जडान गरिएका छन्। करिब ३५ करोड रुपैयाँ लागतमा सम्पन्न यो परियोजना राजमार्ग, सहायक राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक तथा चहलपहल बढी हुने स्थानहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिएको हो।महानगर प्रमुख रेनु दाहालले स्मार्ट बत्तीले सहरको रात्रीकालीन सुरक्षा, यात्रुको सहजता र पर्यटकमैत्री वातावरण निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
