सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट नेपाली खेलाडीलाई दिइने कार पुरस्कारको दौड अहिले पाँच खेलाडीबीच सीमित बनेको छ। लिगको सुरुवातमा विदेशी खेलाडी हावी देखिए पनि पछिल्ला खेलहरूमा नेपाली खेलाडीले प्रभाव जमाएपछि प्रतिस्पर्धा रोचक बनेको हो।
ब्याटिङतर्फ सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी र लुम्बिनी लायन्सका रोहित पौडेल दाबेदार रहेका छन्। शीर्ष स्कोरर एडम रोसिङटनको टोली बाहिरिएपछि दोस्रो स्थानका विनोद (८ खेल–२६४ रन) र तेस्रो स्थानका रोहित (९ खेल–२६० रन) अब प्रमुख दावेदार बनेका हुन्।
बलिङतर्फ विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनीका शेर मल्ल शीर्ष तीनमा छन्। १७ विकेटसहित सन्दीप सूचीको शिरमा भए पनि टोली बाहिरिसकेकाले अविनाश (८ खेल–१६ विकेट) र शेर (९ खेल–१४ विकेट) उपाधि र कार दुवैका लागि बलियो प्रतिस्पर्धी रहेका छन्।
फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्न लागेको अवस्थामा दुवै टोलीका खेलाडीको प्रदर्शन निर्णायक बन्नेछ। सुदूरपश्चिमका विनोद–अविनाश र लुम्बिनीका रोहित–शेरको खेलले कार को हातमा जानेछ भन्ने जवाफ दिने अनुमान गरिएको छ।
गत वर्ष एनपीएलको उत्कृष्ट खेलाडी बनेर कार जितेका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले यस वर्ष ब्याटिङमा जम्न नसकिरहेका भए पनि बलिङ–फिल्डिङमा योगदान गरिरहेका छन्।
अब उपाधिसहित कार जित्ने होड ती पाँच नेपाली खेलाडीबीच चर्किंदै गएको छ।



