राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घन्टा लामो ‘सुखद संवाद’ भएको छ। रास्वपा उपसभापति डिपी अर्यालका अनुसार सोमबार राति असिम शाहको घरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, दलहरूको अवस्था र आगामी फागुन २१ को निर्वाचनबारे गम्भीर छलफल भएको थियो।
भेटवार्तामा तीन मुख्य विषयमा संवाद भएको जनाइएको छ। पहिलो, व्यक्तिगत तहमा दुःख–सुख साटासाट; दोस्रो, भदौ २३–२४ का राजनीतिक घटनाको समीक्षा; र तेस्रो, आगामी निर्वाचनमा रास्वपा र बालेन पक्षबीच सहकार्यको सम्भावना। अर्यालका अनुसार चुनावी सहकार्यबारे ‘सुखद कुराकानी’ भएको छ र यसका विवरण क्रमशः सार्वजनिक गरिनेछ।
रास्वपाका पूर्वसांसद असिम शाहले यो भेटलाई ‘सुखद सुरुआत’को संज्ञा दिएका छन्। यसैबीच, रास्वपा नेता शिशिर खनालले मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सकिने स्वीकार गरेका छन्।
धरौटीमा रिहा भएपछि लामिछानेले राजनीतिक संवाद तीव्र बनाएका छन्। फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुले पनि कानुनी कारणले उनी सांसद वा मन्त्रीका रूपमा तत्काल काम गर्न नसक्ने अवस्था रहेको छ ।



