चितवन, असोज ६ – राक्सिराङ्ग गाउँपालिका वडा नम्वर-६, मकवानपुरकी १५ वर्षीया किशोरी हराएको १० दिनपछि धादिङको रोराङ गाउँपालिका–२, ताल्तीबाट फेला परेकी छन।
किशोरी हराएपछि उनको दाजुले खोजी तथा उद्धारका लागि थ्री एन्जल नेपालको कार्यालय, राप्ती–१ लोथरमा निवेदन दिएकी थिइन। निवेदन प्राप्त भएपछि थ्री एन्जल नेपालले किशोरीको खोजी तथा उद्धारका लागि समन्वय अघि बढाएको थियो। सोही क्रममा किशोरीलाई धादिङको रोराङ गाउँपालिका–२, ताल्तीबाट फेला पारिएको हो।
फेला परेकी किशोरीलाई थ्री एन्जल नेपाल, पूर्वी चितवन शाखाकी प्रमुख सुनिता सिलवालले परिवारको जिम्मा लगाएकी छन।
किशोरीलाई अस्थायी प्रहरी पोस्ट लोथरका प्रमुख गोविन्द घिसिङ तथा सामाजिक व्यक्ति एवं सञ्चारकर्मी गोपाल बिश्वकर्माको रोहवरमा परिवारको जिम्मा लगाइएको हो।
थ्री एन्जल नेपाल, चितवन शाखाकी प्रमुख सिलवालले संस्थाले महिला तथा बालबालिकाको हकहितका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो। उनका अनुसार संस्थाले हराएका तथा बिछोडिएका सयौँ महिला तथा बालबालिकाको खोजी, उद्धार तथा परिवारसँग पुनर्मिलनमा सहजीकरण गर्दै आएको छ।
थ्री एन्जल्स नेपाल मानव बेचबिखनविरुद्ध काम गर्ने गैरनाफामूलक सामाजिक संस्था हो। मुख्य कार्यालय पोखरामा रहेको सो संस्थाले चितवनमा समेत विभिन्न सामाजिक तथा उद्धार गतिविधि सञ्चालन गर्दै आएको छ।
संस्थाले स्थापना काल देखि नै चितवन तथा आसपासका क्षेत्रमा मानव बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षण तथा उद्धारमा काम गर्दै आएको छ साथै सो संस्थाले लामो समयदेखि बेपत्ता भएका वा बेचबिखनमा परेका किशोरीको उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने कार्यसमेत गर्दै आएको छ।
यसैगरी, सो संस्थाले चितवनका विभिन्न ग्रामीण तथा पिछडिएका क्षेत्रमा विपन्न परिवार, चेपाङ समुदाय तथा विद्यालयका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोगलगायतका राहत तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
- A
- A+
- A++
तपाईको प्रतिक्रिया




