चितवन,असोज १०- नेपाली कांग्रेसका नेता शिवराम केसीले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा खुला कोटातर्फ उम्मेदवारी दिएका छन्।
राजनीतिक परिवारमा जन्मिएका केसीले सानैदेखि राजनीतिमा सक्रिय हुँदै आएका हुन्। उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा कालिका नगरपालिकाको प्रमुख पदमा समेत उम्मेदवारी दिएका थिए। निर्वाचनमा धेरै मत बदर भएका कारण आफू थोरै मतान्तरले पराजित भएको केसीको भनाइ छ।
यसअघि बागमती प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित हुँदा उनले सबैभन्दा बढी मत प्राप्त गरेको उनले बताए । पार्टी तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका केसीले पार्टीलाई थप व्यवस्थित, सुदृढ र जनमुखी बनाउन आफ्नो भूमिका महत्वपूर्ण हुने बताएका छन्।
हालको विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई अझ मजबुत बनाउँदै अघि बढाउनु आफ्नो मुख्य उद्देश्य रहेको केसीले बताएका छन्। उनले पार्टीभित्र देखिएका कमजोरीलाई सुधार गर्दै संगठनलाई सुदृढ बनाउन आफूले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पार्टी संगठनलाई थप बलियो बनाउने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताए। साथै, आगामी केन्द्रीय महाधिवेशन उत्साहजनक र सफलतापूर्वक सम्पन्न हुने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।




