पोखराको रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर तथा म्यूजिक स्कुलको आयोजनामा जोजिजू म्युजिकल जर्नी २०७६ को साथमा स्रष्टा सम्मान गर्ने भएको छ । पोखरामा रहेर म्युजिक स्कुलले हाल सम्म धेरै प्रतिभा जन्माई सकेको छ। उत्प्रेम म्युजिक एकेडेमीको सह-आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आउने आइतबार अर्थात नेपालीहरुको महान चाड दशैँको घटस्थापना को दिनमा बिशेष सांगीतिक, सांस्कृतिक कार्यक्रमको साथमा स्रष्टा सम्मानसहित म्युजिकल जर्नी हुने भएको स्कुलका निर्देशक गायक विनित जोजिजूले बताए ।
“संगीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा अग्रज सङ्गीत तथा सस्कृतिकर्मी कृष्ण बहादुर श्रेष्ठ र अग्रज पत्रकार कृष्ण प्रसाद बाँस्तोलालाई सम्मान गरिने भएको छ ।
श्रेष्ठलाई सङ्गीत तथा सस्कृतिको क्षेत्रमा र बास्तोलालाई पत्रकारिताको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै यस सांगेतिक अवसरमा सम्मान गरिने भएको उनले जनाए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष आर्दश समाजका प्रधान सम्पादक बाँस्तोला विगत साँढे दुई दशक देखि पत्रकारिता गर्दै आएका छन्।
त्यस्तै यस स्कुलको १७ औ बार्षिकी अवसरमा समाजमा रहेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने क्रममा यस बर्ष दुई जना श्रष्ठा सम्मानित हुने भएको सेन्टरले जनाएको छ । श्रष्ठा छनौट समितिमा बिनित जोजिजु, पदम राज ढकाल, मिन काजी गुरुङ नबराज बराल ,मन कुमार श्रेष्ठ, सुनिल थापा र राजाराम पौडेल रहेका थिए । संस्थाले यस अघि विभिन्न क्षेत्रका व्यत्तिलाई सम्मान गरेको थियो ।