बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको प्रतिबन्धित अवामी लिगले देशमा अस्थिरता फैलाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले अवामी लिगका समर्थकहरूले आगजनी र हत्यामार्फत अशान्ति मच्चाउन खोजेको दाबी गर्दै यस्ता गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।
भारतसँग सीमा जोडिएको उत्तर–पश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले देशका नागरिक जबर्जस्ती बेपत्ता पार्ने, हत्या, आगजनी, आतंकवाद र मतदानको अधिकार खोस्ने राजनीतिमा फर्कन नचाहेको बताए। उनले यस्ता गतिविधिमा संलग्नलाई कडा जवाफ दिनुपर्ने धारणा राखे।
प्रतिबन्धित अवामी लिगले आह्वान गरेको एकदिने देशव्यापी आमहड्तालका क्रममा विभिन्न क्षेत्रमा हिंसा भड्किएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार अवामी लिग र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। हिंसाका क्रममा पूर्वमुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा समेत आगजनी गरिएको छ।
यसअघि बुधबार नडाइलमा विरोध प्रदर्शनबाट फर्कँदै गरेका बीएनपीका दुई नेताको हत्या भएको थियो। उक्त आक्रमणमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको प्रहरीको दाबी छ। ‘न्यु एज’ पत्रिकाका अनुसार बिहीबारसम्म बंगलादेशका १८ जिल्लामा हिंसा फैलिएको थियो।
मंगलबार रातिदेखि विभिन्न स्थानमा तोडफोड, आगजनी र घरेलु बम विस्फोटका घटना भएका छन्। सार्वजनिक बस, प्रहरी कार्यालय, बीएनपी कार्यकर्ताका घर, पार्टी कार्यालय तथा ग्रामीण बैंकका शाखाहरू निशानामा परेका छन्। बुधबार गोपालगञ्जमा राजमार्गमा सवारीसाधन जलाइएको थियो भने रुख ढालेर आवागमन अवरुद्ध पारिएको थियो।
गोपालगञ्जको काशियानीमा प्रदर्शनकारीहरूले ‘जोय बाङ्ला’ नारा लगाउँदै बीएनपी कार्यालय र ग्रामीण बैंकमा तोडफोड गरेका थिए। प्रहरी चौकीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीहरू कार्यालय छाडेर बाहिरिएका थिए। सोही क्षेत्रमा बीएनपी सांसद डा. केएम बाबरको अस्पताल, निजी निवास र उनका आफन्तका घरहरूमा समेत आगजनी गरिएको छ।
राजधानी ढाकामा बिहीबार बिहानै विभिन्न स्थानमा बम विस्फोट भएका थिए। पल्लबी क्षेत्रमा यात्रुवाहक बसमा आगजनी गरिएको थियो भने नारायणगञ्ज, मयमनसिंह र राजशाहीमा पाँचवटा बस तथा एउटा ट्रक जलाइएको थियो। ढाकामा भएका हिंसात्मक गतिविधिमा कम्तीमा चार जना घाइते भएका छन्।
अशान्ति बढेपछि ढाका उच्च अदालतले आगामी डिसेम्बर ३१ सम्म देशभरका सार्वजनिक विश्वविद्यालयका प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ।
भारततर्फ संकेत गर्दै प्रधानमन्त्री रहमानले अवामी लिग सरकारले देशको हितभन्दा सीमापार रहेका आफ्ना संरक्षकहरूको स्वार्थ पूरा गरेको आरोप लगाए। सत्ताच्युत भएपछि भारतमा शरण लिएको अवामी लिगले पछाडिबाट आक्रमण र आगजनीको राजनीति दोहोर्याएको उनको दाबी छ। उनले यस्ता गतिविधि अब सहन नसकिने चेतावनी दिए।
७९ वर्षीया शेख हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएयता भारतमा बस्दै आएकी छन्। आगामी डिसेम्बरमा स्वदेश फर्कन उनले राहदानी माग गरे पनि सरकारले अस्वीकार गरेपछि अवामी लिगले हड्ताल घोषणा गरेको थियो।
प्रदर्शनकारीमाथि दमन गरेको अभियोगमा हसिनाविरुद्ध विशेष न्यायाधिकरणले सुनाएको मृत्युदण्डको फैसलाको वार्षिकीका दिन हड्ताल आह्वान गरिएको थियो। हसिनाले आफूमाथिका आरोप अस्वीकार गर्दै स्वेच्छाले स्वदेश फर्किएर कानुनी प्रक्रिया सामना गर्ने बताएकी छन्। यता बंगलादेश सरकारले द्विपक्षीय सन्धिअन्तर्गत उनको औपचारिक सुपुर्दगी माग गरिरहेको छ।
हिंसा नियन्त्रण गर्न सरकारले सातवटा संवेदनशील जिल्लामा करिब तीन हजार अर्धसैनिक बल परिचालन गरेको छ। अशान्ति र तोडफोडमा संलग्न रहेको आरोपमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित अवामी लिग र यसका भ्रातृ संगठनका कम्तीमा ७१ जनालाई ढाकाबाट नियन्त्रणमा लिइएको छ।
यसैगरी ढाकास्थित बैतुल मुकर्रम मस्जिदका पूर्वखतिब मुफ्ती रुहुल अमिनलाई पनि बसुन्धरा आवासीय क्षेत्रबाट पक्राउ गरिएको छ। प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ।




