राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा रोप-वे लाइन बनाएका थिए । यही रोप-वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्थे । गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका अन्न, मेसिनरी डिब्बामा लोड गरिन्थे । अनि पुग्थ्यो काठमाण्डाै । यो रोप-वे २०५४ सालसम्म चलिरह्यो । हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका सामान यो रोप-वे भएर काठमाडौं ल्याइन्थ्यो । लागत सस्तो पर्ने भएकाले हेटौंडाका एसियन पेन्ट्ससहितका कम्पनीले यही रोप-वेबाट काठमाडौं सामान पठाउँथे तर, विभिन्न ठाउँमा हुकिङ गरेर सामान चोर्ने समस्या थिए । यो रोप-वेले सुरुआतमै प्रतिघन्टा ८ टन सामान बोक्थ्यो । पछि विस्तार गरेर हेटौंडासम्म पुर्याइएपछि यसले घण्टामा २२ देखी २५ टन सामान बोक्न सक्ने भयो ।
यो रोप-वेलाई जुद्धसम्शेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए । वि.सं २०११ मा बाढीले धोर्सिङको पावर हाउसमा क्षती पुग्यो र रोप-वे बन्द भयो । त्यसपछि सरकारले पहिलो पञ्चवर्षीय योजना ( वि.स २०१३-२०१८ ) मा यो रोप-वे विस्तारको योजना बनायो र, वि.स २०१६ सालबाट काम थालियो । अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर रोप-वे विस्तार गरियो, लम्बाई ४२ किलोमिटर भयो । त्यो समयमा एक किलो सामग्री ढुवानी गर्न ५ पैसा लाग्थ्यो । त्यसभन्दा अघि त झन् एक पैसा मात्रै ।
वि.स २०५४ सालमा रोप-वेको भैंसेस्थित सबस्टेसनमा समस्या आयो, ट्रान्सर्फमर बिगि्रयो । मर्मत गर्न ४-५ लाख आवश्यक पर्यो । तर, सरकारले खर्च गरेन र बन्द भयो ।
बन्द भएका दिनमा चलिरहेका डिब्बा जहाँ-जहाँ आइपुगेका थिए, आज पनि त्यहीँ अडि्कएर झुण्डिरहेका छन् । देशमा ऊर्जा संकट सुरु भएपछि त झन् यसलाई सञ्चालन गर्नेबारे कसैले ध्यान नै दिएनन् । वि.सं २०५९ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा रोप-वे खारेजीको निर्णय भयो ।
यो रोप-वेमा ८ वटा टर्मिनल छन् भने ७ स्टेशन । ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग हुन्थे । झण्डै एक हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको यो रोप-वेले विहानदेखि बेलुकसम्म झण्डै २५० टन सामान ओसार्थ्यो ।
जीर्ण रोप-वे पुनर्निर्माण गरेर चलाउने कुनै योजना नै छैन । रोप-वे अब इतिहासको एउटा पानामा सीमित हुने देखिन्छ । हेटौंडाको चौकीटोलमा रहेको रोप-वेको लोडिङ स्टेशनमा अहिले सुमो काउन्टर राखिएको छ ।