सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ मा गाउँबस्तीसम्म पुग्ने सडक पूर्वाधार कमजोर छ । ग्रामिण सडक पुगेपनि सवारी साधन गाउँ गाउँसम्म पुग्न नसक्दा स्थानीयले कठिनाइ भोग्दै आएका छन् । विशेष गरी बिरामी परेका बेला एम्बुलेन्स सेवा उपलब्ध नहुँदा सुत्केरी महिला र गम्भीर बिरामीलाई ठूलो असर परिरहेको छ ।
वडा नम्बर १६ मा ९ वटा टोल छन् । अधिकांश टोलमा बिरामीलाई अस्पतालसम्म लैजान स्टेचरकै भरपर्ने अवस्था छ । पर्याप्त स्टेचर नहुँदा कतिपय बिरामीलाई अस्पताल पुर्याउनै समस्या हुने गरेको छ । यही समस्या समाधान गर्न स्थानीय युवा धर्मराज लामिछानेको अगुवाइमा युवाहरुले सहयोग संकलन गरी टोलटोलमा स्टेचर उपलब्ध गराएका छन् ।
सोमबार वडाका ९ ओटा टोल र स्वास्थ्य चौकीका लागि १० ओटा स्टेचर प्रदान गरिएको छ । स्टेचर सहयोग गर्ने व्यक्तिहरुमा वीरेन्द्रनगर १६ का यामबहादुर रास्कोटी, देवीलाल खराल, धर्मराज लामिछाने, टिकाराम राना, वीरेन्द्रनगर १० का प्रकाशकुमार शाही, वीरेन्द्रनगर ४ का विशाल हमाल, वीरेन्द्रनगर १० का मिलन भण्डारी, वीरेन्द्रनगर ११ का योगेश नारायण चपाईँ, सनम शर्मा र हुम्ला सर्केगाड २ का धनबहादुर कार्की रहेका छन् ।
स्थानीय युवाहरुको पहलमा भएको यो स्टेचर वितरणले बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा पर्ने यो वडा विकासका दृष्टिले अझै पछि परेको अवस्थामा सुत्केरी र बिरामीलाई डोकोमा बोक्नु पर्ने परम्परा अन्त्य गर्न स्टेचर वितरण गरिएको हो । यससँगै स्थानीय सरकारको ध्यानाकर्षण हुने अपेक्षा पनि गरिएको छ ।
स्टेचर वितरण भएपछि स्थानीय नागरिक खुसी भएका छन् । बिरामीलाई समयमा अस्पताल लैजान नसक्दा धेरैको ज्यान जाने समस्या समाधानमा यो कदमले महत्वपूर्ण योगदान गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् । साथै, उनीहरुले गाउँ घरसम्म एम्बुलेन्स सेवा पुर्याउन पहल गर्न युवाहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, टोल विकासका अगुवा, महिला स्वयंसेविका र स्थानीयको उपस्थितिले यसको महत्त्व थप उजागर गरेको छ ।