भरतपुर, १२ भदौ
चितवनका सातवटै स्थानीय तहमा थप एक साता निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (शुक्रबार) बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी जरुरी सूचनामा जनाइएको छ । योसँगै जिल्लामा निषेधाज्ञाको अवधि तेस्रो चरणको हो ।
पहिलो चरणको निषेधाज्ञा साउन ३० गतेदेखि लागु हुने गरी महानगरमा घोषणा गरिएकोमा साउन ३२ गते रातिदेखि भदौ ५ गतेसम्म माडी बाहेकका ६ वटा स्थानीय तहमा लगाइएको थियो ।
प्रशासनले भदौ ६ गतेदेखि १२ गते राती १२ बजेसम्म हुने गरी दोस्रो चरणको निषेधाज्ञा सबै स्थानीय तहमा लगाइएको थियो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।