सन् १९४० को दशकको अन्त्यतिर ख्यातिप्राप्त बेलायती संगीतज्ञ सर युजिन गुसेन्सले ओपेरा हाउसको निर्माण परियोजना अघि सारेका थिए । उनी त्यो समयका प्रसिद्ध ओपेरा कन्डक्टर थिए ।
दोस्रो विश्वयुद्धपछि उनी संगीतको निर्देशक भएर अस्ट्रेलिया पुगेका थिए । त्यसअघि उनले बेलायत र अमेरिकामा काम गरिसकेका थिए । अस्ट्रेलियामा भने उनी सिड्नीमा अवस्थित न्यू साउथ वेल्स स्टेट कन्सर्भेटोरियम अफ म्युजिकको निर्देशक भएर आएका थिए । भनिन्छ, त्यसबेला उनलाई प्रधानमन्त्रीको भन्दाबढी पारिश्रमिक दिइएको थियो ।यसरी सिड्नी पुगेका सर गुसेन्सका लागि ओपेरा बनाउने पेशागत काम थिएन । जीवनकै मिसन थियो । सिड्नीको हार्बरको छेउमै रहेको ट्राम डिपो उनका लागि स्वप्निल स्थान बनिसकेको थियो । जसलाई आदिवासी गाडिगल समुदायले टुबवगुले भनेर चिन्थे ।
त्यहाँ हजारौं वर्षदेखि सांस्कृतिक र आध्यात्मिक गतिविधिहरू हुँदैआएको थियो । कालान्तरमा यो ठाउँ आधुनिक अस्ट्रेलियाको सांगीतिक पहिचानको केन्द्र बन्ने सर गुसेन्सको दृढ विश्वास थियो ।
तर सपना देखेर मात्र पुग्दैन । त्यसलाई मूर्तरूप दिन राजनीतिक संलग्नता आवश्यक थियो । सौभाग्यवश सर गुसेन्ससँग त्यो क्षमता थियो । उनले न्यू साउथ वेल्सका मुख्यमन्त्री जोसेफ काहिललाई प्रस्ताव राखे । काहिललाई उनको योजनाले मोहित पार्यो ।

त्यसपछि काहिलले स्थान स्वीकृत गर्नुका साथै एउटा अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता नै आह्वान गरे । त्यो प्रतियोगिता सन् १९५५ मा सुरु भएको थियो । त्यसमा एउटा मात्र सर्त राखिएको थियो-पहिले कतै पनि नबनेको खालको संरचना हुनुपर्छ ।
यो प्रतियोगिताको निर्णायक क्षण सन् १९५७ मा आयो । जसमा विश्वभरबाट २३३ आर्किटेक्टहरूले डिजाइन पठाएका थिए । ती मध्ये डेनमार्कका आर्किटेक्ट जोर्न उट्सनको नाम अगाडि आयो ।
उट्सनको प्रस्तावित डिजाइन परम्परागत भवनहरू भन्दा भिन्न थियो । कल्पनाशीलताको एउटा चरम उदाहरण जस्तो डिजाइन थियो । भवनको छाना शंखजस्तो आकारको थियो । उनको त्यस्तो डिजाइन देखेर निर्णायकहरू नै विभाजित थिए । तर अन्ततः उट्सनकै डिजाइन छानियो।
यसरी डिजाइन छनौट भएपछि सिड्नी ओपेरा हाउस बनाउन औपचारिक रूपमा २ मार्च १९५९ देखि थालिएको थियो । यसको निर्माण थाल्दा तीन चरणमा काम सक्ने योजना थियो-पोडियम, छाना र भित्री भाग । त्यही योजनाअनुसार सबैभन्दा पहिले पोडियम बनाइयो । तर पछि मात्र थाहा भयो कि, ट्राम डिपो रहेको जमिन कमजोर रहेछ । ठाउँ पनि पर्याप्त छैन रहेछ ।

त्यसैले भवनको भार धान्न ५५० भन्दा बढी स्टिल-कङ्क्रिटका खम्बा राखियो । यसो गर्दा सोचेभन्दा समय र लागत दुवै बढी लाग्यो । यसैबीच छानाको संरचना निर्माण गर्नु समग्र परियोजनाको सबैभन्दा जटिल भाग भएको पनि थाहा भयो ।
सुरुमा स्टिलमा कङ्क्रिटको कोटिङ गरेर छाना बनाउने योजना बनाइएको थियो । तर त्यस्तो संरचनाले भित्री हलमा ध्वनिमा असर पार्ने देखियो । त्यसपछि थुप्रै असफल प्रयास भए ।
तर जोर्न उट्सनले समाधान निकाले । उनले एकदिन सुन्तलाको बोक्रा छिलिरहेका थिए । त्यहीँक्रममा उनले पत्ता लगाए कि छानाको सबै खण्डहरू एउटै गोलो आकारबाट काटेर निकाल्न सकिन्छ । त्यसपछि छानाका टुक्राहरू एउटै गोलो आकारबाट काटेर बनाइए । ती टुक्रा पहिले नै कारखानामा बनाइन्थे । र, पछि निर्माण ठाउँमा ल्याएर जोडिन्थ्यो ।
यसबेलासम्म निर्माणको लागत र समय पहिलेभन्दा धेरै बढिसकेको थियो ।
सन् १९६२ सम्म आइपुग्दा लागत साढे १२ मिलियन अस्ट्रेलियन डलर पुग्यो । जबकि, सुरुआती अनुमान साढे तीन मिलियन अस्ट्रेलियन डलर मात्र थियो । यता उद्घाटन मिति पटकपटक सारिएको थियो ।

यसैबीच सन् १९६५ मा न्यू साउथ वेल्सको सरकार परिवर्तन भयो । नयाँ मुख्यमन्त्री रोबर्ट अस्किनले यो परियोजनालाई पहिलेदेखि खुलेर विरोध गर्दै आएका थिए । सत्तामा पुगेपछि उनले आर्किटेक्ट उट्सनलाई पनि दबाब दिन थाले । पछि त उनलाई भुक्तानी नै दिन छाडे । त्यस्तो परिस्थिति सिर्जना भएपछि उनले सन् १९६६ मा परियोजनाबाट राजीनामा दिए । र, आफ्नै देश डेनमार्क फर्किए ।
मुख्य आर्किटेक्ट उट्सन परियोजनाबाट बाहिरिएपछि अस्ट्रेलियन आर्किटेक्टहरूले परियोजना सम्हाले । उनीहरूले परियोजनाको भित्री संरचनालाई पूर्णरूपमा परिवर्तन गरे । उट्सनले प्रमुख हललाई ओपेरा र कन्सर्ट दुवैका लागि प्रयोग गर्न चाहेका थिए । तर नयाँ योजनामा त्यो हटाइयो ।
त्यसपछि निर्माण कार्य झनै जटिल बन्यो । सन् १९७२ मा यहाँ काम गर्ने मजदुरहरूले पनि हड्ताल गरे । यद्यपि काम भने निरन्तर भइरहेको थियो । त्यस्तै प्रतिकूल परिस्थिति बाबजुद अन्ततः सन् १९७३ मा निर्माण कार्य पूरा भयो ।
परियोजना सम्पन्न गर्न १० वर्ष ढिला भइसकेको थियो । अनुमानित सुरुआती लागतभन्दा १४ गुणा बढी खर्च भयो । यो सम्पन्न हुँदा १०२ मिलियन अस्ट्रेलियन डलर खर्च भएको थियो ।
यसरी जेजस्तो भए पनि २० अक्टोबर १९७३ मा रानी एलिजाबेथ द्वितीयबाट यो भवन औपचारिक रूपमा उद्घाटन भयो ।
000
तर यो भवनको परिकल्पनाकार सर गुसेन्सले आफ्नो सपना साकार भएको हेर्न पाएनन् । १९५६ मा नै बेलायतबाट नाइटको उपाधि लिएर फर्किँदै गर्दा उनी अस्ट्रेलियामा पक्राउ परेका थिए । उनको झोलाबाट तस्करी गरिएको अश्लील सामग्री, आपत्तिजनक तस्बिरहरू र रबर मास्कहरू भेटिएका थिए । पछि मिस्टर ई. ग्रेको नाममा उनले अस्ट्रेलिया छाडे । फेरि कहिल्यै फर्किएर आएनन् ।

यसरी यौन, तान्त्रिक क्रियाकलाप आदि कारणले उनको करियर नै समाप्त भयो ।
यता भवनको मुख्य आर्किटेक्ट उट्सन पनि उद्घाटन समारोहमा उपस्थित भएनन् । पत्रमार्फत आफूले कल्पना गरेको भित्री स्वरूप नबनेकाले त्यहाँ उपस्थित हुन उपयुक्त नहुने उनले जवाफ लेखेका थिए ।
यद्यपि सन् १९९९ मा उट्सन फेरि परियोजनामा परोक्ष रूपमा संलग्न भएका थिए । जसको कारण थियो-भित्री भागको पुनः डिजाइन । र सन् २००४ मा भवनको एउटा कक्षको नाम नै ‘उट्सन रूम’ राखिएको थियो ।
जे होस्, आज सिड्नी ओपेरा हाउस युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ । सन् २००७ मा यो भवनलाई यो सूचीमा राखिएको थियो । आजसम्म बब डिलन, नेल्सन मण्डेला, क्याथी फ्रीम्यान लगायत धेरै विश्व प्रसिद्ध व्यक्तिहरूले यो हलमा उपस्थिति जनाइसकेका छन् । हालै मात्र हरि महर्जन र उनको समूहले पनि यहाँ सांगीतिक प्रस्तुति दिएका थिए ।




