५ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।उनका अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन् । यात्रुहरु बाटोमै अलपत्र परेका छन् भने लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किनु परेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। तर सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।
सडक अवरुद्ध हूँदा काठमाडौंबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका जाने सवारी रोकिएका छन भने आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् ।





