काठमाडौं । नेपाली चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु भएको छ। काठमाडौंको बुढानीलकण्ठबाट चलचित्रको छायांकन थालिएको हो। विशुद्ध प्रेमकथामा आधारित चलचित्रको छायांकन करिब ३० देखि ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।
सुदीप पौडेलको निर्माणमा बन्न लागेको चलचित्रको शुभमुहूर्तसँगै निर्माण यात्रा औपचारिक रूपमा अघि बढेको हो। जी थ्रीएस फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता सुदीप पौडेल, सहनिर्माता सुजन केसी र कार्यकारी निर्माता अनुप ढकाल रहेका छन्।

नेपाली मूलका भारतीय निर्देशक शिव सोहितले निर्देशन गरिरहेको चलचित्रमा महेश त्रिपाठी र सिम्रन खड्का मुख्य भूमिकामा देखिनेछन्। निर्देशक सोहितलाई एसोसिएट निर्देशक अनमोल शर्माले साथ दिइरहेका छन् भने चलचित्रको प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे रहेका छन्।
चलचित्रको छायांकन निर्देशनको जिम्मेवारी उत्सव दाहालले सम्हाल्नेछन्। चलचित्रमा योगेश काजी र निर्देशक शिव सोहितको संयुक्त संगीत रहनेछ भने सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन्। त्यस्तै, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दीवाना कला निर्देशकका रूपमा चलचित्रमा आबद्ध छन्।

निर्माता सुदीप पौडेलले चलचित्र निर्माण आफ्नो सिर्जनात्मक रुचि र नयाँ कथा दर्शकमाझ पुर्याउने प्रयास भएको बताएका छन्। चलचित्रप्रतिको आफ्नो रुचिलाई निर्माणमार्फत अगाडि बढाउँदै नयाँ टिम र नयाँ सोचका साथ ‘छायाँको जीत’ निर्माणमा जुटेको उनको भनाइ छ।
करिब एक महिनाको छायांकन तालिका तय गरिएको चलचित्रको प्रदर्शन मितिबारे भने निर्माण पक्षले हालसम्म कुनै निर्णय गरेको छैन। प्रेमकथामा आधारित चलचित्रले दर्शकमाझ कस्तो प्रभाव छाड्नेछ भन्ने चासोका बीच निर्माण टिम छायांकनमा जुटेको छ।




