मदन सुवेदी
प्रभु!
“एउटा अलौकिक शक्ति
जसको कारणले हामी खडा छौँ”
निचोड निस्क्यो नेतृत्वको।
“के चढाउने त प्रभुलाई ?”
मुख्य एजेन्डा बन्यो बैठकको।
“यो चढाउ न”
नक्शा देखाउदै बोले एकजना।
“कहाँ पुग्छ त्यतिले?
त्यो भन्दा बढी त चढाइसके अघिल्लाले”
कड्किए अर्का।
“बरु यो चढाऔ न”
सुझाए एउटाले।
“यो त २० वर्ष अघि नै चढिसक्यो”
इतिहासमा दखल राख्ने बोले अर्का।
“के के चढिसके, के के बाँकी छन्?
लिस्ट बनाऔ न एउटा”
तन्नेरी दिमाग देखाए युवा नेताले।
“त्यसो गर्दा आजको दिनले पुग्दैन
नलम्ब्याउ बैठक”
जुग देखेको बोली बोल्यो वरिष्ठ नेताको।
“हामी को नै हो र प्रभुको भेटी तोक्ने?”
सुझाए एकजना प्रभावशालीले
“राष्ट्रियता र स्वाभिमान त पहिल्यै चढाइसक्यौँ
प्रभुको इच्छा, यो पटक चुप बसौ”
ओहो! कस्तो सजिलो उपाय!
“दुई-तीन घन्टा बितेछ बेक्कारमा
२-४ गेम म्यारिज भ्याइन्थ्यो”
चुकचुक गर्दै बोले अर्का।
सकियो बैठक
केही बोलेनन् कोही
निर्णय नै त्यही थियो।
समाचार आयो भोलिपल्ट
“भेटीमा लिपुलेक लिएछन् प्रभुले।”